

सर्लाही ।
अपहरणमा परेका १५ वर्षीय एक बालकको सर्लाही प्रहरीले सीमावर्ती गाउँबाट सकुशल उद्धार गरेको छ ।
अपहरणमा संलग्न दुई नेपालीसहित एक भारतीयलाई सोमबार प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरूको साथबाट हतियारसमेत बरामद भएको छ । सर्लाहीको सीमावर्ती गाउँ ब्रह्मपुरी गाउँपालिका–४ स्थित रामजी साह बस्ने घरमा भारतका १५ वर्षका एक बालकलाई अपहरण गरी बन्धक बनाई राखिएको अवस्थामा प्रहरीले सकुशल उद्धार गरेको हो ।
बालकलाई उद्धार गर्ने क्रममा अपहरण आरोपमा घरमूली ६८ वर्षीय साहसहित सोही ठाउँका १९ वर्षीय विक्रम पासवानलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस्तै अपहरणको मुख्य आरोपी भारत विहार राज्य सीतामढी जिल्ला राजवडा ग्राम पञ्चायत मुसहर्निया टोलका २७ वर्षीय प्रवचन साहलाई पनि नियन्त्रणमा लिइएको प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए ।
