

सप्तरी ।
सप्तरीको डाक्नेश्वरी नगरपालिका १का नवनिर्वाचित वडाध्यक्ष धीरेन्द्रकुमार साह पुर्पक्षका लागि कारागार चलान भएका छन् ।
आफ्नै वडाकी युवतीलाई बलात्कार पछि हत्या गरेको र उनका भाइलाई बेपत्ता बनाएको कसुुरमा जिल्ला अदालत सप्तरीले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।
उपनिर्वाचनबाट वडाध्यक्षमा निर्वाचित धीरेन्द्रकुमार साहलाई शपथग्रहण समारोहबाटै मंसिर २० गते पक्राउ परेका थिए । उनलाई जेल चलान गर्ने आदेश भएको हो ।
३ वर्ष पुरानो मुद्दा गत बुधबार जिल्ला अदालत सप्तरीमा दायर भएको थियो । त्यसपछिको निरन्तर सुनुवाइपछि अदालतले सोमबार यस्तो आदेश सुनाएको हो ।
वडाध्यक्ष धीरेन्द्रकुमार साहसहित राजनारायण साह, इन्द्रनारायण साह, सुशील साह, शिवकुमार साह, पंकज साह र ओमप्रकाश साहविरुद्ध जबरजस्ती करणी र कर्तव्य ज्यानको कसुरमा अभियोग पत्र दायर गरिएको छ ।
उनीहरूले सोही वडाकी २० वर्षकी सन्तोषीकुमारी साहलाई पटकपटक बलात्कार गरी हत्या गरेको भन्दै उनकी आमा चन्दरदेवी साहले जाहेरी दिएकी थिइन् ।
चन्दरदेवीकै घरभित्र पटक–पटक जबरजस्ती करणी गरी घाँटी थिचेर हत्या गरेको आरोप छ । २०७८ चैत २२ गते बिहान १० बजे सन्तोषीलाई जबरजस्ती करणीपछि हत्या गरेको भन्दै उनकी आमाले जाहेरी दिएकी थिइन् ।
मृतकको घाँटीमा डाम देखिएको थियो । पोस्टमार्टमबाट पनि मृत्यु स्वाभाविक नभई हत्या भएको पुष्टि हुने रिपोर्ट प्राप्त भएको प्रहरीको दाबी छ ।
घटना देखेका स्थानीयले पनि हत्यामा वडाध्यक्ष साहको संलग्नता पुष्टि हुने बयान कागज गरिदिएका छन् ।
इन्द्रनारायण भन्ने प्रतिवादी घटनाको दिन बिहान सन्तोषीको घर बाहिर उभिइरहेको र फोनमा कसैलाई छिटो आऊ घरमा कोही पनि छैनन् भनेर सूचना दिएको, त्यसको केही समयपछि मोटरसाइकलमा आएका व्यक्तिहरूले बेहोस अवस्थामा सन्तोषीलाई लिएर गएको देखेको लक्ष्मी मडर राजधोवले कागज गरेका छन् ।
त्यसको केही समयपछि उक्त घरबाट मानिसहरू भागी गएको देखेको राजधोवले कागज गरिदिएका छन् । घटनाको समयमा धीरेन्द्र पनि उक्त घरमा गएको देखेको उनले बताएका छन् ।
त्यतिबेला मृतकका भाइ नितिशकुमार साह पनि घरमै थिए । उनीहरूले नितिशलाई आमालाई बोलाएर आऊ भनी पठाएको र त्यसपछि घटना घटाएर उनीहरू भागेको देखेको स्थानीय छोटेलाल यादवको बयान छ ।
लिलमदेवी अधिकारीले पनि घटनाको समयमा ५÷६ जनालाई उक्त घरमा झगडा गरिरहेको देखेको बताएकी छन् ।
धीरेन्द्रले सन्तोषीको विवाह आफूसँग गराइदिन धम्की दिँदै आएको आरोप छ । तर उनकी आमाले छोरीको विवाह नेपालमा नगर्ने बताउँदै आएकी थिइन् ।
घटनापछि छोरा नितिशले दिदीको हत्या कसरी भयो भन्ने बताएको परिवारको दाबी छ ।
