

जनकपुरधाम ।
अंग्रेजी नववर्षको अवसरमा जनकपुरधामको जानकी मन्दिर भारतीय पर्यटकले भरिभराउ छ । प्राचिन मिथिलाको राजधानी जनकपुरधाममा अहिले भारतीय नागरिक र गाडीले भरिएको छ । जानकी मन्दिर पुग्ने सडकभरि भारतीय नागरिक र भारतीय नम्बर प्लेटका गाडीको लर्को लागेको हो ।
भगवानको दर्शन र पूजापाठ गरेर नयाँ वर्षको शुरुवात सुखमय होस् भन्ने अभिलाषाका साथ जनकपुरधाममा भारतीय पर्यटकहरुको घुइचो लागेको छ । बुधबार बिहानैदेखि जनकपुरधामको जानकी मन्दिर, राममन्दिर लगायतका धार्मिक मठमन्दिरहरुमा पर्यटकहरुको भिड लागेको छ । नगरभित्र भारतीय गाडिहरुको चाप बढेको छ । महोत्तरीको जलेश्वर र धनुषाको जटही नाकाबाट भारतीय पर्यटकहरु अत्याधिक रुपमा जनकपुरधाम आएका छन् ।
नेपालका साथै छिमेकी मुलुक भारतको राजस्थान, गुजरात, महाराष्ट्र, हरियाणा, दिल्ली, बिहार, उत्तरप्रदेश, सिमला, उत्तराखण्डलगायत राज्यबाट हजाराँैको संख्यामा पर्यटकहरु जनकपुरधाम आउने गरेका छन् ।
