

जनकपुरधाम ।
धनुषाकै पुरानो उद्योगको रुपमा परिचित एभरेष्ट पेपर मिलका कर्मचारीहरु आन्दोलनमा उतरिएका छन् । विगत २० महिनादेखिको तलब नपाएपछि मिलका सयौँ कर्मचारी आन्दोलनमा उतरिएका हुन् । वर्षोदेखिको विद्युतको बक्यौता मिलले राखेपछि नेपाल विद्युत प्राधिकरणले लाइन नै काटि दिएको छ । लाइन काटिएपछि मिलको सम्पूर्ण काम ठप्प भएको ३ महिना भईसकेको त्यहाँका कर्मचारी जयकुमार यादवले बताए । २० महिनादेखिको तलब बाँकी नै थियो त्यसमाथी उद्योगको काम नै ठप्प भएपछि आफूहरु डेढ महिनादेखि बेरोजगार भएर बसेका छौँ उनले दुखेसो पोखे ।
विगत डेढ महिनादेखि मिल संचालन तथा बाँकी तलबको माग गर्दै धर्नामा बस्दै आएका थिए । धर्ना, जिल्ला प्रशासन कार्यालयमा छलफल तथा श्रम कार्यालय भएको छलफलबाट पनि कुनै ठोस निश्कर्ष ननिस्कएपछि आफूहरु थप आन्दोलनको घोषणा गर्न बाध्य भएको अर्का कर्मचारी कौशल साहले बताए । उनले अब मिलका मालिकहरुको घर अगाडी पुगेर प्रदर्शन गर्ने चेतावनी दिए । यसका साथै संचालकहरुको गाडी समेत घेर्ने आफूहरुको योजना रहेको उनले बताए ।
हामीले उद्योग संचालन गर्ने वातावरण बनाई दिनुस, तलबकालागि केही महिना कुर्छौँ भनेर चेयरमैन ओमप्रकाश सर्राफलाई पटक पटक आग्रह गर्दा समेत नसुनेको कर्मचारीहरुको गुनासो छ । उद्योग बन्द भएका कारण एभरेष्ट पेपर मिलका कर्मचारीहरु बेरोजगार जस्तै भएका छन् । मिल प्रशासनले कार्यालय आएर बस्नेसम्मको ठाउँ नदिएपछि उनीहरु आन्दोलित भएका हुन् ।
२१ करोड बढी बिजुलीको बक्यौता बुझाउन एभरेष्ट पेपर मिलको बाँकी छ । यहाँबाट उत्पादन भएका कागज नेपालभरी आपूर्ती गर्नुका साथै भारत र जापानमा समेत आपूर्ती गरिन्थ्यो । एभरेष्ट पेपर मिल बन्द हुँदा त्यहाँ कार्यरत ३ सय बढी कर्मचारी प्रभावित भएका छन् ।
