

काठमाडौं ।
बारामा नेपाल प्रहरीका कार्यालय सहयोगी राजकुमार रुम्बाको हत्यामा राष्ट्रिय अनुसन्धान विभागका एक जना कर्मचारीको संलग्नता रहेको प्रहरीले जनाएको छ । बाराको जितपुर सिमरा उपमहानगरपालिका–११मा गत पुस ६ गते बागमती प्रदेश ०१–०२८ च ७६१६ नम्बरको कारभित्र रुम्बा मृत भेटिएका थिए ।
लगत्तै अनुसन्धानका लागि खटिएको टोलीले हत्या प्रकरणमा राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान अधिकृत श्रीकान्त तिवारीको संलग्नता रहेको पाइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक महेन्द्र खड्काले बताए ।
उनी राष्ट्रिय अनुसन्धान विभाग बारा दरबन्दी भइ विमानस्थल कार्यालय, सिमरा बारामा कार्यरत् रहेको बाराका प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले बताए ।
हत्यामा संलग्नता रहेको आधारहरु फेला परेपछि प्रहरीले तिवारीसँगै बारामा जय माँ इन्जियरिङ वर्कसप चलाउँदै आएका पुरुषोत्तम कुमार दास र इन्द्रजित कुमार चौहानलाई पनि पक्राउ गरेको छ । शव भेटिएको गाडी समेत राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान अधिकृत तिवारीको रहेको खुलेको छ ।
