

एजेन्सी ।
अजरबैजान एयरलाइन्सले बुधबार कजाकस्तानमा भएको विमान दुर्घटना बाह्य प्राविधिक हस्तक्षेपका कारण भएको दाबी गरेको छ ।
दुर्घटनामा एम्ब्रेयर विमान उच्च गतिमा खसेर अकताउ विमानस्थलको धावनमार्गबाट ३ किलोमिटर अगाडि नै आगो लागेर दुर्घटना हुँदा ३८ जनाको मृत्यु भएको थियो । विमानमा सवार ६७ जनामध्ये २९ जनाको जीवितै उद्धार गरिएको थियो ।
यो विमान दक्षिणी रूसको ग्रोज्नी विमानस्थलमा अवतरण गर्ने योजनामा रहेको बताइएको छ । रूसको नागरिक उड्डयन एजेन्सीका प्रमुखले शुक्रबार बताएअनुसार चेचन्याको राजधानीमा स्थिति निकै जटिल रहेकोले त्यहाँ उडानमा प्रतिबन्ध लगाइएको थियो ।
यो विमान दुर्घटनापछि अजरबैजान एयरलाइन्सले रूसका सात शहरहरूमा उडानहरू स्थगित गरेको छ । युक्रेनको गुप्तचर निर्देशनालयका प्रमुखले पनि यस विमान दुर्घटनाको जिम्मेवारी रूसलाई दिएका छन् ।
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दमित्री पेस्कोवले यी आरोप बारे भने, ‘म एकपटक फेरि दोहो¥याउँछु, मैले जे भनेको छु, त्यसमा मलाई अरू केही थप्नुपर्ने छैन । यो विमान दुर्घटनाको अनुसन्धान भइरहेको छ र जबसम्म अनुसन्धानको नतिजाबाट कुनै निष्कर्ष निस्कँदैन, हामी आफूलाई कुनै निष्कर्ष निकाल्न योग्य मान्दैनौं र त्यसो गर्ने छैनौँ ।’
