

जनकपुरधाम ।
सर्लाहीको बसबरिया गाउँपालिका–३ का वडाध्यक्ष नन्दलाल महतोको निधन भएको छ । महतोको ६९ वर्षको उमेरमा गएराति निधन भएको हो । कलेजोको क्यान्सरबाट पीडित महतोको उपचारका क्रममा बुधबार राति भरतपुरस्थित बीपी कोइराला मेमोरियल अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । बसबरिया गाउँपालिकाका अध्यक्ष रामसिंहासन रायका अनुसार महतोको आजै दाहसंस्कार गरिने छ ।
उनी नेपाली कांग्रेसबाट वडाध्यक्ष निर्वाचित भएका थिए । वडाध्यक्ष महतोको निधनको शोकमा बसबरिया गाउँपालिकाले आज गाउँपालिकामा शोक बिदा दिएको छ । भारतको दिल्लीमा उपचार गराएर घर फर्किएका महतोलाई पुनः स्वास्थ्य समस्या बढ्न थालेपछि एक महिनाअघि भरतपुर लगिएको थियो ।
महतो २०७२ र २०७९ मा भएको स्थानीय तहको निर्वाचनमा लगातार दुई पटक कांग्रेसबाट बसबरिया ३ को वडाध्यक्षमा निर्वाचित भएका थिए । उनी २०५४ सालमा तत्कालिन भवानीपुर गाविसको अध्यक्षमा निर्वाचित भएका थिए ।
