

एजेन्सी ।
अफगानिस्तानको पूर्वी सीमावर्ती प्रान्तमा पाकिस्तानले गरेको हवाई आक्रमणमा परी ४६ जनाको मृत्यु भएको छ । पाकिस्तानी आक्रमणमा परी ४६ जनाको मृत्यु भएको तालिबान सरकारका प्रवक्ताले जानकारी गराएका छन् ।
तालिवानका ‘प्रवक्ता जबीहुल्लाह मुजाहिदले भने, ‘मंगलबार राति पाकिस्तानले पत्तिका प्रान्तको बरमल जिल्लामा चार स्थानमा बमबारी गरेको थियो । मृत्यु हुनेको कुल सङ्ख्या ४६ पुगेको छ । मृतकमध्ये अधिकांश बालबालिका र महिला रहेका छन् ।’ उनका अनुसार घटनामा अन्य छ जना घाइते भएका छन् ।
अफगानिस्तानको रक्षा मन्त्रालयले मगलबार एक विज्ञप्ति जारी गर्दै अफगान भूमिमा पाकिस्तानले गरेको पछिल्लो आक्रमणको निन्दा गर्दै यसलाई ‘बर्बर’ र ‘स्पष्ट उत्तेजना’ भनेको छ ।
सरकारमा रहेका तालीवान अधिकारीहरूको नाममा जारी विज्ञप्तिमा भनिएको छ, ‘इस्लामिक इमिरेट्स (अफगानिस्तान)ले यो कायरतापूर्ण कार्यलाई अनुत्तरित छोड्ने छैन, अफगानिस्तान आफ्नो भूभाग र सार्वभौमिकताको रक्षालाई आफ्नो अविभाज्य अधिकार ठान्छ ।’
गत मार्चमा अफगानिस्तानको सीमावर्ती क्षेत्रमा पाकिस्तानी सेनाले गरेको हवाई आक्रमणमा आठ जना सर्वसाधारणको मृत्यु भएको तालीवानी अधिकारीले जनाएका थिए । बरमालनिवासी मलीलले मंगलबारको आक्रमणमा एकै परिवारका १८ जनाको मृत्यु भएको बताए ।
