

जनकपुरधाम ।
नेपाली कांग्रेसका सर्लाहीका सभापति सुरेन्द्रप्रसाद सिंहलाई बर्खास्त गर्न माग गर्दै सर्लाहीका नेता, कार्यकर्ताहरूले केन्द्रीय कार्यालय सानेपामा ज्ञापन पत्र बुझाएका छन् ।
सभापति सिंहविरूद्ध २०८० फागुन १५ गते सर्वोच्च अदालतबाट भ्रष्टाचार ठहर भई आदेश भएको भन्दै बर्खास्त गर्न माग भएको हो । राजनीतिक दलसम्बन्धी ऐन २०७३ र कांग्रेसको विधानअनुसार पनि फौजदारी कसुरमा अदालतबाट दोषी भएका व्यक्ति पार्टीको साधारण सदस्य पनि नरहने भएकोले जिल्ला सभापतिबाट बर्खास्त गर्न माग भएको हो ।
कांग्रेस जिल्ला उपसभापति नवीनप्रसाद अधिकारी, क्षेत्र नम्बर १ का सभापति हरिबहादुर लुंगेलीलगायतले सभापति सिंहविरूद्ध केन्द्रीय कार्यालयमा ज्ञापन पत्र दर्ता गराएका हुन् । ‘सुरेन्द्रप्रसाद सिंहलाई सभापति पदबाट बर्खास्त गरी कांग्रेसको विधानअनुसार नयाँ सभापति चयन गरियोस्,’ मंगलबार केन्द्रीय कार्यालय सानेपामा बुझाइएको ज्ञापन पत्रमा उल्लेख छ ।
सिंहलाई सभापतिबाट बर्खास्त नगरे केन्द्रीय कार्यालयमा धर्ना दिने र रिले अनसन बस्नेजस्ता दबाबमुलक कार्यक्रम गर्ने पनि उनीहरूले ज्ञापन पत्रमा चेतावनी दिएका छन् ।
