

जनकपुरधाम ।
मधेसका मुख्यमन्त्री सतिशकुमार सिँहले दृष्टिविहीनकालागि आश्रयसहितको विद्यालय संचालनमा ल्याउन सरकारले सघाउने प्रतिबद्धता व्यक्त गरेका छन् । जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेका दृष्टिविहीनहरूको एक टोलीसंगको भेटमा मुख्यमन्त्री सिँहले आश्रयसहितको विद्यालयकालागि जग्गा उपलब्ध नहुँदासम्म वैकल्पिक व्यवस्थापनतर्फ लाग्नुपर्ने बताए ।
“जनकपुरधाममा गुठीको जग्गा छ । गुठीको जग्गाप्राप्तिमा निकै कठिनाइ हुने हुँदा तत्काल अपांगता भएकाहरूका लागि सञ्चालित कुनै संस्थाको भवनमा दृष्टिविहीनहरूका लागि विद्यालय सञ्चालन गर्ने विकल्पतिर सोच्नुपर्छ,“ मुख्यमन्त्री सिँहले भने ।
उनले दृष्टिविहीनहरूको कल्याणका लागि स्थानीय सरकार तथा स्वयंसेवी संस्थासँग समन्वय गर्ने पनि जनाए । मुख्यमन्त्री सिँहसँगको भेटमा दृष्टिविहीनहरूले आफूहरूको वास र लेखपढ व्यवस्थापनका लागि अघिल्ला प्रदेश सरकारहरूले सुनुवाइ नगरेको गुनासो समेत गरे ।
