Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

बयानकालागि रवि लामिछाने सहित ५ जनालाई अदालतमा उपस्थित गराइयो





काठमाडौँ ।
पूर्वगृहमन्त्री एवम् रास्वपा सभापति रवि लामिछानेसहित ५ जनालाई बयानका लागि आज कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ ।
रविसहित पूर्व डीआईजीसमेत रहेका गोर्खा मिडियाका पूर्व उपाध्यक्ष छविलाल जोशी, जीबी राईका साझेदार नेचर हर्बसका रामबहादुर खनाल, लिला पछाइँ र सूर्यदर्शन सहकारीका सञ्चालक कृष्ण गुरूङलाई अदालत उपस्थित गराइएको हो ।
आइतबार उनीहरुविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएकाले आजदेखि बयान हुनेछ । त्यसपछि थुनछेक बहस हुने अदालतले जनाएको छ ।
‘आजबाट अभियोगअनुसार प्रतिवादीको बयान थालिएको हो । १/२ दिन बयानमै जान्छ, त्यसपछि बल्ल थुनछेक बहस हुने हो,’ कास्की जिल्ला अदालतका श्रेस्तेदार राजन खनालले भने । थुनछेक बहसपछि न्यायाधीशले थुनामा राख्ने, धरौटी माग्ने वा सामान्य तारिखमा छाड्ने भन्ने विकल्पमध्ये एउटा निर्णय गर्नेछन् । त्यसपछि मात्रै मूल मुद्दा अघि बढ्ने छ ।
सामान्यतयाः तीन वर्षभन्दा बढी कैद सजाय मागदावी भएका मुद्दामा आरोपितहरूका बारेमा भरपर्दो प्रमाण छ भने अदालतले थुनामा पठाउने अभ्यास छ । तर त्यसक्रममा आरोपको गम्भिरता, प्रमाणको सान्दर्भिकता एवं आरोपित थुनाबाट बाहिरिएमा उसले मुद्दामा पार्नसक्ने प्रभाव लगायतका आधारमा न्यायाधीशहरूले उपयुक्त आदेश गर्छन् ।
जिल्ला अदालत कास्कीमा आइतबार मुद्दा दायर भएसँगै रास्वपा सभापति लामिछाने प्रतिनिधिसभा सदस्यबाट निलम्बित भएका छन् । सम्पत्ति शुद्धीकरणको अभियोग गर्दा हुनासाथ सार्वजनिक पदमा रहेको व्यक्ति स्वतः निलम्बन हुने कानुनी व्यवस्था छ । सरकारी वकिलको कार्यालय, कास्कीले संघीय संसद सचिवालयलाई पत्र पठाएर उनको निलम्बनवारे औपचारिक जानकारी दिएको छ । जिल्ला अदालतमा मुद्दा नटुङ्गिदासम्म उनी निलम्बनमा हुनेछन् ।
अमेरिकाबाट नेपाल फर्किएपछि विभिन्न टेलिभिजन कार्यक्रम उत्पादनमा सक्रिय रहेर लोकप्रियता आर्जन गरेका लामिछानेले नेटवर्किङ व्यवसायमा सक्रिय जीबी राई लगायतका समूहसँग मिलेर गोर्खा मिडिया नेटवर्क नामक कम्पनी खोलेर त्यसबाट ग्यालेक्सी टीभी सञ्चालन गरेका थिए ।
जीबी राई आवद्ध विभिन्न सहकारी संस्थाहरूबाट गोर्खा मिडियामा रकम प्रवाह भएको थियो । ती सहकारीहरूको बचत दुरूपयोग गरेको आरोपमा अहिले उक्त समूहमाथि मुद्दा दायर भएको हो । आरोप लागेका गोर्खा मिडियाका प्रमुख समेत रहेका राई हाल फरार छन् ।
प्रहरीले रवि लगायतको समूहमाथि विभिन्न सहकारीको बचत ठगी गरेको आरोपमा एक अर्ब ५१ करोड रुपैयाँ बिगो मागदाबी सहित सहकारी ठगी मुद्दा दायर गरेको छ । संगठित समूह बनाएर योजनाबद्ध रूपमा ठगी गरेको आरोपमा उनीहरूमाथि संगठित अपराधको अभियोग पनि छ ।