

सिराहा ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले जिल्लामा सन् २०२४ मा ८८ वटा मानवअधिकार उल्लङ्घनका घटना घटेको जनाएको छ । ‘मानवअधिकार वर्ष पुस्तक सन्–२०२५’को समीक्षा कार्यक्रममा शनिबार इन्सेकले गैरराज्य पक्षबाट ८७ र राज्यपक्षबाट एउटा मानवअधिकार उल्लङ्घनको घटना घटेको जानकारी दिएको हो ।
इन्सेकका जिल्ला प्रतिनिधि दुर्गा परियारका अनुसार जिल्लामा बलात्कार, हत्या, बहुविवाह, घरेलु हिंसाजस्ता घटना घटेका छन् । उनका अनुसार यस अवधिमा १३ बालिका बलात्कार घटनाबाट पीडित भएका छन् भने छ बालिका यौन दुर्व्यवहारको घटनामा पीडित भएका छन् ।
त्यसैगरी, ११ वटा बलात्कारका घटना घटेको र सातवटा बलात्कार प्रयासका घटना भएका छन् । पाँच पुरुष र पाँच महिलाको परिवारजनबाटै हत्या भएको छ । बहुविवाहका सातवटा घटना घटेका छन् ।
गाउँनिकाला, झडप, ढुङ्गामुढा, नाकाबन्दी, आत्महत्या दुरुत्साहन, घरेलु हिंसालगायतका मानवअधिकार उल्लङ्घनका घटना घटेका छन् । स्थानीय तहहरूका न्यायिक समितिमा पीडितहरूले विश्वास नगरेको देखिएको छ ।
