

♦ लक्ष्मीप्रसाद रिजाल
“यो त वीरमान होइन ? ” वर्षौँ पहिले देखेको एउटा बलवान् व्यक्ति केही शिथिल भएपनि डोकामा घाँस बोकेर शर्माजीको गोठतिर हिँडेको देखेर मैले सोधेँ ।
शर्माजीले भने “हो सर ! यो त्यही प्राध्यापक आकाशका घरमा बस्ने वीरमान हो । आकाश सर काठमाडौ जाँदा विराटनगरतिर एक जना साथीकामा पुर्याएका थिए । त्यहाँ रमाएन । दुई वर्ष नपुग्दै भागेर आएछ । दया लाग्यो । अहिले त पहिलेजस्तो काम पनि गर्न सक्दैन। गाई पालुन्जेलका लागि उद्धार गरेको छु ।”
म ३२,३३ वर्ष पहिले भद्रपुर क्याम्पस पढ्थेँ । हाम्रो डेरा नजिकै क्याम्पसका प्राध्यापक आकाशको घर थियो उनले विमान स्थल नजिक दुई कट्ठा जमिनमा घर बनाएका थिए । अलिक पूर्वपट्टि उनको दुई बिगाहा खेत थियो ।
त्यतिखेर प्राइभेट क्याम्पस थिएनन् । प्राध्यापक हरूलाई आफ्नो घन्टी सकेपछि फुर्सद हुन्थ्यो । उनीहरू फुर्सदको समय आफ्नो रुचि अनुसार उपयोग गर्थे । अर्थशास्त्रका प्राध्यापक आकाशको रुचि राजनीतिमा थियो । उनको वाक्कला र तर्क शक्ति बेजोड थियो ।
२०४८तिर एक दिन उनकै आँगनामा उनी वक्ता थिए। श्रोता समूहमा म पनि थिएँ। उनले तातो चियाको चुस्की लिँदै भने – “आर्थिक र सामाजिक सिद्धान्त राम्रो लागेको हुँदा म मार्क्सवादी भएको हुँ। ” हामीले बुझेनौँ कि भनेर उनले स्पष्ट पारे- ” कम्युनिस्ट पार्टीको आर्थिक र सामाजिक सिद्धान्त समानतामा आधारित छ । कसैले कसैलाई भेदभाव गर्दैन। सन्सारमा एक दिन वर्ग विहीन समाजको स्थापना हुन्छ र सबैमा पूर्ण समानता हुन्छ।”
त्यतिखेर प्राध्यापक आकाशका घरमा गाईवस्तु चराउने एउटा अनाथ अलिअलि बोल्ने केटो बसेको थियो । उसको नाम वीरमान थियो । ऊ निकै बलियो थियो। एक माउ गाई ,बाछाबाछी र चार पाँचवटा बाख्राको सम्पूर्ण काम उसकै जिम्मामा थियो। खेतीपातीको काममा पनि खेतालासँगै उसले काम गर्नुपर्थ्यो। ऊ केवल खाना र सामान्य लुगाका लागि अविश्रान्त श्रम गर्थ्यो।
प्राध्यापक आकाश आफूलाई सच्चा भौतिकवादी मान्थे। दशैंमा राजाका नाममा दैलोमा टीका लगाइदिँदैनथे। सँगै बस्ने आमाको मानका लागि बाबुको श्राद्ध गरिदिन्थे तर पुरोहितले राजालाई तर्पण दिने मन्त्र पढ्दा देब्रेतर्फ भुइँमा पानी फ्याक्थे र गर्व गर्दै भन्थे –
” म वामपन्थी हुँ नि गुरु ! ”
एकदिन श्राद्धमा मलाई पनि निमन्त्रणा थियो । श्राद्धका दिन अरु सबैलाई एउटा भाँडामा मसिनो चामलको र वीरमानका लागि मोटा चामलको खाना अर्कै भाँडामा पाकेको देखेर म चकित भएको थिएँ । निकट सम्बन्ध भएकाले प्रा.आकाशका घरमा बाक्लै आवतजावत हुन्थ्यो । नियमित रुपमा वीरमानका लागि छुट्टै चामलको खाना पातलो दाल र माछा मासु पकाउँदा पनि पुरै भेदभाव भएको देखेँ।
प्राध्यापक आकाशको विचार र व्यवहार विचको अन्तर देखेर म मनमनै छक्क परेको थिएँ । वीरमानमाथिको विभेद उनले व्याख्या गरेको मार्क्सवादी दर्शनसँग पटक्कै मेल खाँदैनथ्यो ।एक दिन मैले बडो हिम्मतका साथ प्राध्यापक आकाशसँग ” वीरमानमाथि विभेद भएन ? ” भन्ने प्रश्न गरेँ । उनले मुसुक्क हाँस्दै बेलुका खाना खान बोलाए । बरन्डामा रहेको एउटा टेबलसँग मिलाएका कुर्सीमा हामी दुईजना बस्यौँ । वीरमान आँगन छेउमा लिपेको भुइँमा राखेको खोस्टाको पिरामा बस्यो । छुट्टै भाँडामा पाकेको भात ,पातलो दाल र केही पानी थपेको सब्जी सहितको ठूलो हलुङ्गेको थाल प्राध्यापककी श्रीमती मुना मेडमले वीरमानका अगाडि पुर्याइन् । आज किन मालिक्नीभन्दा छिट्टै खान दिएको होला भन्ने सोचेर ऊ एक छिन टोलायो
आकाशले इसाराबाट खा भनेपछि उसले कपाकप खाना खायो । केटाले थपीथपी निकै खाना खायो ।
खाइसकेपछि प्राध्यापक र म कोठामा पस्यौँ। वीरमान धारामा भाँडा मस्काउँदै थियो। उनले मतर्फ हेर्दै भने – ” भाइ ! आज पनि भेदभाव देख्नुभयो ?”
” अर्कै भाँडाको खाना ,पातलो दाल ,मासुको झोल मात्र अनि धेरै खाना खाए पनि भुटेको सब्जी एकपटक मात्र दिनु त भेदभाव हो नि । फेरि हामी कुर्सीमा बस्यौँ । ऊ भुइँमा बस्यो । थाल पनि हलुङ्गेको थियो ।” भन्ने मेरो जवाफ सुनेर उनले कुटिल मुस्कान सहित भने – ” हेर्नोस् भाइ ! हामी दुई मुठी चामलको भात खान्छौं उसले डेढ माना बजाउँछ। हामीलाई एक कचौरा दालले पुग्छ, उसलाई दुई डबका चाहिन्छ । त्यस्तै सबै चिजको हिसाबकिताब गर्दा हामी भन्दा धेरै मूल्यको खाना उसले खान्छ तसर्थ मेरो सिद्धान्त अनुसार नै हाम्रो घरमा उसमाथि भेदभाव छैन। एउटा अनाथलाई खानलाउन दिएका छौँ ।कुरा बुझ्नु भो ? ” उनी अलिक ठुला मान्छे भएका हुँदा चित्तनबुझे पनि ” कुरा बुझेँ ” भनेँ । उनको आदर्श- वर्ग सङ्घर्ष , विभेदको अन्त्य र वर्विहीन समाजको कुरा वीरमानमाथिको विभेदसँग किमार्थ मिल्दैनथ्यो । तथापि उनी कुतर्क गरेर आफूलाई आदर्श र उदार बुद्धिजीवी मान्थे ।
म पढाइ सिध्याएर रोजगारीका लागि टाढा गएपनि वर्ष दुई वर्षमा प्राध्यापक आकाशका घरमा जान्थेँ । उनी राजनीतिक नियुक्ति पाई कहिले मानव अधिकार आयोगको सदस्य , कहिले कुन उद्योगको जिएम बन्थे । आफ्नो दलको सरकार ढलेपछि पुनः प्राध्यापन कर्ममा फर्किन्थे। । कृषि र घरायसी कामको रेखदेख उनकी पत्नीले गर्थिन् । बाहिरी काम सबै वीरमान र खेताला हरुले गर्थे ।उनका दुई जना छोराछोरी स्कुलको पढाइ सकेपछि काठमाडौं बसेर पढ्थे ।
वीरमान प्राध्यापक आकाशकै घरमा हुर्क्यो बढ्यो। ऊ लाठे भयो। आकाशको छोरो वीरमान भन्दा एक दुई वर्ष कान्छो थियो। पञ्चायत कालमा जन्मिए पनि बहुदलीय व्यवस्थामा हुर्किएको हुँदा उसको शिक्षा र संस्कार घरको परिवेश भन्दा फराकिलो थियो। कामको दाम नदिए पनि वीरमानलाई खानामा भेदभाव गर्नु हुँदैन भनेर उसले बुबाआमालाई तर्क सहित सम्झायो। त्यतिखेर माओवादी द्वन्द्व बढेको हुँदा पनि प्राध्यापक आकाशले खानपिनमा भेदभाव नगर्ने कुरामा सहमति जनाए ।
समय बित्दै गयो । प्रा.आकाशको को छोराले मानव अधिकार विषयमा जर्मनबाट पीएचडी गर्यो । छोरी डीभी परेर अमेरिका पुगिसकेकी थिई । छोराछोरीले आफ्ना बुबालाई काठमाडौंमा सरुवा गर्न र गाउँको खेती सबै बिक्री गर्न लगाए ।
खेती बेचेपछि २५,२६ वर्षदेखि निरन्तर आफ्नो घरमा बसेको वीरमानलाई के गर्ने भन्ने प्रश्नले आकाशको परिवार चिन्तित भयो । एउटै घर भातभान्सा र पुरै कृषि कार्यमा सहयोग गरी आर्थिक समुन्नतिका लागि सहयोग गर्ने वीरमानले केही नपाएपनि खानलाउन र सामान्य बिरामी हुँदा उपचार पाएको थियो । ऊ एक किसिमको बँधुवा मजदुरजस्तै बनेर प्रा आकाशको घरमा बसेको थियो । १२,१३ वर्षको कलिलो उमेरदेखि जवानीको पूरा ऊर्जा आकाशको घरखेतीमा खर्चिएको थियो । उसको घर थर केही थाहा थिएन । ऊ नेपाली भएपनि अनागरिक थियो ।
वीरमानलाई के गर्ने भन्ने विषयमा उनले आफ्नो साथी मोहनसँग सल्लाह लिए । मोहन महेन्द्र मोरङ क्याम्पस विराटनगरमा भूगोल पढाउँथे ।उनी विराटनगर नजिक ग्रामथानका बासिन्दा थिए । उनका छोराले गाउँ नजिकै फर्निचर उद्योग खोलेको थियो। भूगोल विषयमा विद्यार्थी
संख्या न्यून थियो । उनी कहिलेकाहिँ क्याम्पस जान्थे ।पूरा समय फर्निचर उद्योगमा दिन्थे । त्यहाँको काठ मिलका लागि वीरमानलाई बेतन बिनाको कामदारका रुपमा राख्दा फाइदै हुन्छ भनेर उनले आकाशको प्रस्तावमा स्वीकृत जनाए । उनी प्रजातान्त्रिक विचारका थिए । आफूलाई प्रजातान्त्रिक समाजवादको विज्ञ ठान्थे । नेपालको एउटा प्रजातन्त्रवादी सिद्धान्त भएको दलको प्रशिक्षण विभागको जिल्ला संयोजक र महा समिति सदस्य थिए । तर यी दुई प्राध्यापकको मित्रतामा राजनीतिले छेकबार लगाएको थिएन ।
मोहनलाई वीरमान साँच्चै वीर र वफादार छ भन्ने थाहा थियो । अझै १० ,१५ वर्ष उसले काम गर्न सक्छ भन्ने लागेर उनले वीरमानलाई कामदारका रुपमा राखिदिने वचन दिए ।
जमिन बिक्री गरेर घर भाडामा दिएपछि प्राध्यापक आकाश र मुना मेडमले वीरमानका सबै सरसामानको पोको बाँधे । उसलाई सँगै लिएर ग्रामथान मोहन सरका घरमा पुगे । केही दिन मुना मेडम त्यहीँ बसिन् । उनले वीरमानको खानपिन, रुचि, स्वाद, व्यवहार आनीबानी सबै कुरा मोहनकी श्रीमतीलाई बताइदिइन् । बोली नआएपनि वीरमान चनाखो थियो । उसले पुरानो मालिक बसाइँ जान लागेको थाहा पाएको थियो ।
वीरमानलाई छोड्न मुना मेडमलाई निकै कठिन भयो । एकजोर राम्रा लुगा , एउटा घडी र पाँच हजार रुपैयाँ हातमा राखिदिएर वीरमानसँग बिदा मागिन् । वीरमानले आँखामा टलपल आँसु निकाल्यो । उनले पनि मन थाम्न सकिनन् ।
अब वीरमानको काम फेरियो । प्राध्यापक मोहनको उद्योगमा काठ पल्टाउने , ओसार्ने काम उसले गर्नुपर्थ्यो । बिहान आठ बजेदेखि साँझसम्म । अर्कै काम, ठाउँ, भूगोल र समाज । वीरमानलाई पटक्कै मन परेन । ऊ खेतबारी र गाईबाख्रामै रमाउन बानी परेको थियो । मन नलागेपछि वीरमान दुब्लाउँदै गयो उसले सोचेजति काम पनि गर्न सकेन । ऊ खिन्न , निराश र हतोत्साही भयो ।
श्रमको मूल्य नपाएपनि आकाशको घरमा उसले आत्मीयता पाएको थियो । खेतबारी र गाईबाख्रासँग रमाउँदा प्रकृतिको माया पनि पाएको थियो । खान लाउन पाएपनि भावनाको अभाव र प्रकृतिको सामीप्य नपाएपछि मोहनका घरमा ऊ छट्पटाउन थाल्यो । फेरि मोहन उसलाई खुब काममा खटाउँथे । खाजा पनि मिल छेउका क्यान्टिनमा निश्चित रकमको ख्वाउँथे । उसको आहारा ठूलो भएकाले ऊ किनेको खाजाले तृप्त हुँदैनथ्यो ।
मोहन सर दलको प्रशिक्षणमा जाँदा ट्रेड युनियनका विश्वव्यापी मान्यताको वकालत गर्थे । साथै उत्पादनका साधनमाथि निजी स्वामित्वको कुरा गर्थे । पुँजीवादको परिमार्जित रुप नै बिपीको समाजवाद हो भन्थे ।सामाजिक न्याय ,समतामूलक समाज ,मानव अधिकार र सामाजिक उत्तरदायित्वको व्याख्या गर्थे । मजदुर अधिकार सम्बन्धी प्रशिक्षणका त उनी मास्टर प्रशिक्षक थिए। तर बिना ज्यालाको मजदुर वीरमानलाई आराम गर्नै दिँदैनथे। यी पनि आकाश सरजस्तै भाषण र प्रशिक्षणमा मात्र समतामूलक समाजको कुरा गर्थे । श्रमिकलाई शोषण गर्ने सन्दर्भमा यिनको चरित्र दुरुस्तै आकाश सरको जस्तै थियो । फर्निचर उद्योगका काठ मिस्रीहरू प्राय विहारतिरका थिए । उनीहरू वीरमान लाई हेप्थे । बौका भन्थे । जसोतसो एकदुई वर्ष उसले फर्निचर उद्योगमा काम गर्यो । ठुलठुला मुढा पल्टाउँदापल्टाउँदै ऊ थकित हुन्थ्यो । बेलुका मोहनको घरमै खाना खाएर सुत्थ्यो ।
एक दिन वीरमान छिट्टै उठेर मोहनको घरबाट भाग्यो ।
। काठ मिलमा काम गर्ने रहमानले मोहनलाई ऊ भागेको कुरा सुनाइदियो। मोहन सर मुख पनि नधोई स्कुटी लिएर गई पुष्पलाल चौक नजिकको चिया पसलबाट उसलाई फकाइफुल्याई फर्काएर ल्याए । त्यसपछि मुना मेडमले भनेझैँ घरकै स्वादिलो खाजा दए । लगभग दुई वर्ष बित्दा पनि वीरमानले भद्रपुरलाई बिर्सन सकेन । आफनो घरपरिवार र पहिचान केही थाहा नपाएपनि दुई जना फरक विचारका प्राध्यापकको दलनमा परेको वीरमान भद्रपुर फर्कन चाहन्थ्यो । साथमा मुना मेडमले दिएको रुपैयाँ बचत थियो । अर्को दिन रहमान दारु खाएर अल्लाहरुदलको गीत गाएर सुत्यो । वीरमान राती नै उठेर जसोतसो पैदल हिँडेर विराटनगर कञ्चनबारी पुग्यो इसारा र कनिकुथी बोलीको सहाराले साढे चार बजेको काँकरभिट्टा जाने बसमा चढ्यो । बीरतामोडमा उत्रेर भद्रपुर जाने बस चढ्यो । चन्द्रगढी पुग्दा निकै खुसी भयो । भद्रपुर वाणिज्य बैँक मुन्तिर गाडीबाट उत्रियो । खुरुखुरु पूर्वतर्फ लाग्यो । प्राध्यापक आकाशको घरतिर हेर्यो । त्यहाँ गाईगोठ थिएन। गेटमा चाभी लगाएको थियो । गाई र बाख्राहरु पनि थिएनन् । ऊ आकाशको खेतीतिर गयो । खेतमा बाली थिएन । जमिन सबै प्लटिङ गरिएको थियो । ठुला चराले गुँड लगाउने सिमलको रुखको नामो निसान थिएन । पैनीका डिलको बाँसका जरासिटा केही थिएनन् । यो दृश्यले ऊ निराश र स्तब्ध भयो । आफूले जोतखन गरेको माटमा पल्टियो । धुरुधुरु रोयो । एकरात त्यही माटामा सुत्यो ।
भोलिपल्ट बिहान आकाशका छिमेकी शर्माजीले वीरमानलाई देखे । ऊ निकै दुब्लाएको थियो । उनले गाई फार्म खोलेका थिए । शर्माजी उसको आनीबानी आहारविहारसँग परिचित थिए ।उसलाई खान दिए हुन्छ भन्ने बुझेकका हुँदा उनले गाईगोठको कामका लागि वीरमानलाई आफ्नै घरतर्फ लिएर गए ।
आज म काम विशेषले भद्रपुर जाँदा पुरानो डेरातिर गएँ । शर्माजी मेरो डेरामालिक थिए ।उनी त्यतिखेर खाद्य संस्थानमा जागिरे थिए ।अहिले गाई पालेर बसेका रहेछन् । उनका गोठमा गोबर सोरिरहेको मानिस वीरमान हो कि जस्तो लाग्यो मैले जिज्ञासा राखेँ ।उनले वीरमानको सबै कहानी सुनाए ।
म निकै भावुक भएँ मभन्दा एक दुई वर्ष कान्छो वीरमान पचास वर्षमाथि पुगेको थियो । अब कति दिन उसले दलनमा परेर जिन्दगीको भार बोक्ला ? मेरो मस्तिष्कमा हिजो र आजको वीरमान ठिङ्ग उभिएको छ र भोलिको वीरमानको अवस्था सोच्दै सोच्दै छु । दुई पृथक् विचार राख्ने बौद्धिक व्यक्तिले दिएको पीडा बोकेर आज अर्को मानिसको गोठालो बन्न विवश वीरमानको अवस्था देखेर म भावुक बनेँ । बुबाआमा नभएका हजारौँ वीरमानप्रति मेरो देशको दायित्व छ कि छैन हजुर !
अर्जुनधारा-८ झापा ।
