Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

एनपीएलमा सहभागी ८ खेलाडी जसले १ रन पनि बनाएनन्





काठमाडौँ ।
भनिन्छ, क्रिकेटमा हरेक खेलाडीले आफ्नो नजर बलमा राख्नुपर्छ र आफ्नो लक्ष्यमा केन्द्रित हुनुपर्छ । जित महत्वपूर्ण हुन्छ तर त्योभन्दा पनि बढी महत्व कसरी खेल्ने भन्नेमा हुन्छ ।
नेपालमा पहिलोपटक आयोजना भएको नेपाल प्रिमियर लिग (एनपीएल) अब फाइनलमा पुगिसक्यो । यस बीचमा ३१ खेल सम्पन्न भए । अब शनिबार सुदूरपश्चिम रोयल्स र जनकपुरबीच फाइनल खेल हुँदै छ ।
तर, यो एनपीएलको फाइनल हुनुअघिसम्मको स्कोरकार्ड हेर्दा ८ खेलाडी यस्ता भेटिए, जसले अहिलेसम्म आफ्नो खातामा एक रन पनि जोड्न सकेनन् । अर्थात्, डक आउट भए । एक रनमा पनि नहानी शून्यमा आउट भएकालाई क्रिकेटमा डक आउट मानिन्छ । तीमध्ये एकबाहेक सबै नेपाली खेलाडी छन् । रोचक त के छ भने अधिकांश बलर छन् । तर, कोही पनि पाँच लाखभन्दा माथिको रकममा किनिएका खेलाडी छैनन् ।
यो एनपीएलको सबैभन्दा महँगो फ्रेन्चाइज टिम पोखरा एभेन्जर्सबाट नै सबैभन्दा बढी खेलाडी डगआउट भए । ५ लाख रुपैयाँ पारिश्रमिकमा पोखराबाट खेलेका तृतराज दासले जम्मा १ खेल मात्रै खेले। तर, विराटनगरविरुद्धको उक्त खेलमा उनी गोल्डेन डक भए। अर्थात् पहिलो बलमै आउट । एनपीएलको पहिलो संस्करणको स्कोरकार्डमा उनको नाममा एक रन पनि चढ्न सकेन ।
नेदरल्यान्ड्सबाट आएका ब्याटिङ अलराउन्डर बास डि लिडेबाट पोखरालाई ठूलो अपेक्षा थियो। तर, चितवनविरुद्धको पहिलो खेलमै उनी गोल्डेन डक भए । ब्याटिङभन्दा उनको बलिङ राम्रो भयो। ४ ओभरमा २० रन खर्चिदै उनले २ विकेट लिए । पोखराले उक्त खेलमा हार व्योहोरेपछि दोस्रो खेलबाट लिडे क्रिजमा आएनन्। घाइते भएका कारण घर फर्किएको बताइएको छ ।
ट्यालेन्ट हन्टमार्फत गण्डकी हिरोजका रूपमा छनोट भएका सुदीप अर्यालले पोखराको अन्तिम खेलमा मात्रै खेल्ने मौका पाए। ब्याटिङमा त आए तर बलको सामना गर्न पाएनन् । त्यसैले रनविहीन भए। १ लाख पारिश्रमिक पाएका अर्यालले दुई ओभर बलिङ गर्ने मौका पनि पाए । तर, १९ रन खर्चिए पनि विकेट लिन सकेनन् ।
यो एनपीएलमा शिखर धवनलाई लिएर आएको कर्णाली याक्समा पनि दुईजना खेलाडी रनविहीन भए । अक्सनबाट ५ लाखका खरिद गरिएका दायाँहाते ब्याटर रित गौतमले जम्मा दुई खेल खेले । ती दुई खेलमै ब्याट गर्न पाए । दुई खेल गरेर जम्मा ४ बलको सामना गरेका उनी पनि यो लिगबाट रनविहीन बिदा भए ।
ट्यालेन्ट हन्टबाट छनौट भएका कर्णालीका विपिन शर्माले यो एनपीएलमा बलिङमार्फत तहल्का पिटिरहेका छन् । सबैभन्दा कम अर्थात् एक लाख मात्रै पारिश्रमिक पाएर यो लिग खेल्ने अवसर पाएका शर्माले पूरै ८ वटै खेल खेले । यसबीचमा जम्मा २९ ओभर बल गरेर १७१ रन खर्चिएका उनले १३ विकेट लिए । धवनसँग क्रिज सेयर गरेका उनले यो एनपीएलमा जिमी निशम, सोहेल तन्विर, बेन कटिङ, लोफ्टी इटन र अमरसिंह रटेउलाजस्ता विदेशबाट अनुबन्धित भएर आएका अनुभवी खेलाडीहरूको विकेट लिए । बलिङमार्फत नेपाली क्रिकेटको नयाँ सम्भावनाका रूपमा उदाएका विपिनले ब्याटिङमा भने एक रन पनि जोड्न सकेनन् । बिहीबार क्वालिफायर २ को खेलमा जनकपुर बोल्ट्ससँग पराजित हुँदासम्म उनले जम्मा २ विनिङ मात्रै ब्याटिङ गर्ने मौका पाएका थिए । दुई खेलको जोडेर जम्मा ३ बलको मात्रै सामना गर्न सके। फाइनलअघिसम्म सबैभन्दा बढी विकेट टेकरको सूचीमा उनी चौथो स्थानमा छन् तर रनमा भने अन्तिममै भए ।
३ लाख पारिश्रमिक लिएर चितवन राइनोजबाट खेलेका रन्जित कुमार पनि यो एनपीएलमा रनका हिसाबले रित्तो घर फर्किए । बायाँ हाते ब्याटरले उनले ५ खेल खेले । तर, १ खेलमा मात्रै ब्याटिङको अवसर पाए। तर, न ‘बल फेस’ गर्न पाए, न रन नै जोड्न सके। पहिलो एनपीएलमा उनको स्कोर खाता शून्य रनमै सीमित भयो । तर, ५ खेलमै बलिङ गरेका उनले २ विकेट भने लिन सफल भए । लिगभर ८४ बल गर्दा १२० रन खर्चिए ।
विराटनगर किंग्सले ५ लाख रुपैयाँमा खरिद गरेका जितेन्द्र मुखिया पनि यो लिगमा गोल्डेन डक भए। १ खेल मात्रै खेलेका उनी पहिलो बलमै पेभेलियन फर्किए । उनले १ ओभर बल गर्ने मौकासमेत पाएका थिए। तर, यसमा पनि विकेट लिन सकेनन् ।
२ लाख पारिश्रमिक लिएर लुम्बिनी लायन्सबाट खेलेका अभिशेष गौतम पनि एनपीएलमा पहिलो बलमै आउट हुने खेलाडीको सूचीमा पर्छन् । ४ खेल खेले पनि एक मात्रै खेलमा ब्याटिङको अवसर पाएका उनी पनि गोल्डेन डक नै भएका थिए । आफ्नो खातामा एक रन पनि जोड्न नसकेका उनले ४ खेलमै बलिङ गरे। ब्याटिङमा शून्य रन भए पनि बलिङमा भने ९६ बल फ्याँकेका उनले ७८ रन खर्चिदै ६ विकेट लिन सफल भए ।
फाइनलमा पुगेका सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्समा भने कोही पनि खेलाडी रनविहीन छैनन् ।
१६ विकेटसहित सर्वाधिक विकेट टेकर र एनपीएलकै उत्कृष्ट खेलाडी भएर कार पाउने दौडमा रहेका ललित राजवंशीले ब्याटिङमा भने राम्रो प्रदर्शन गर्न सकेका छैनन् । तीन खेलमा ब्याटिङ गर्न पाएका उनले अहिलेसम्म कुल ४ रन मात्रै जोडेका छन् ।
सुदूरपश्चिम रोयल्सबाट जम्मा एक खेल मात्रै खेलेका अमीत श्रेष्ठले ५ बलको सामना गर्दा १ रन बनाएर आउट भएका थिए। अभिनाश बोहोराले दुई खेलमा ब्याटिङको मौका पाउँदा जम्मा ३ बलको सामना गरेका छन् र २ रन मात्रै जोड्न सकेका छन् । तर, बलिङमा भने उनको प्रर्दशन ठिकै छ । ७ खेलमा २१ ओभर बलिङ गर्दा उनले १५४ रन खर्चिदै ७ विकेट लिएका छन् ।
स्कोरकार्ड हेर्दा काठमान्डु गुर्खाजमा पनि रनविहीन कोही छैनन् । इंग्ल्यान्डका बलर नाथेन सोटरले तीन खेलमध्ये एक खेलमा ब्याटिङको अवसर पाउँदा एक रन हानेका छन् ।