

जनकपुरधाम ।
सिराहाको सुखीपुर नगरपालिका–३ सलमपुरमा ग्यास चुहावट भई आगलागी हुँदा ५ लाख ५५ हजार बराबरको क्षति भएको छ ।
शनिवार राति अचानक ग्यास सिलिन्डर विस्फोट भई आगलागी हुँदा किराना पसलमा रहेका सामान, रिचार्ज कार्ड, नगदसहित ५ लाख ५५ हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
स्थानीय सुलिन्दर दासको एक तल्ले पक्की घरमा भरत साहले सटर भाडामा लिई किराना पसल र प्रिमा ग्यास डिलर सञ्चालन गर्दै आएका थिए । साहले पसल बन्द गरी घर गएको बेलामा ग्यास चुहावट भई अचानक आगलागी हुँदा छ थान ग्यास विस्फोट हुनुका साथै साहको किराना पसल र सोही घरको अर्को सटरमा अनिलकुमार दासको किराना पसलमा पनि आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी नायब उपरीक्षक वीरेन्द्र पासमानले जानकारी दिए ।
भरत साहको डिलरमा रहेको छ थान ग्याससहित किराना सामग्री, एनसेल र एनटीसीको दुई लाख रुपैयाँको रिचार्ज कार्ड, नगद पचास हजार रुपैयाँ गरी ५ लाख ५५ हजार रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको प्रहरी नायब उपरीक्षक पासमानले बताए ।
उनका अनुसार अनिलकुमार दासको किराना पसलमा आगलागी हुँदा चामल, गहुँ, खाने तेललगायत २ लाख २३ हजार बराबरको क्षति किराना सामग्री क्षति भएको अनुमान गरिएको छ ।
