Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

पढाइपछि प्रायः विद्यार्थीहरुलाई गृहकार्य दिने जनकपुरधाममा प्रवृति

मननयोग्य र सिर्जनात्मक हाम्रो प्राथमिकता – शिक्षकहरु





सुजीतकुमार झा
जनकपुरधाम ।
मोडेल मावि जनकपुरधाममा कार्यरत शिक्षक विमल दत्त पढाइपछि प्रायः विद्यार्थीहरुलाई गृहकार्य दिनुहुन्छ । विज्ञानका शिक्षक रहेका दत्त भन्नुहुन्छ –कक्षाकोठामा गरिने क्रियाकलापको अभिन्न अंग गृहकार्य हो । ‘कक्षाकोठामा निर्माण भएको सैद्धान्तिक धरातलमा व्यावहारिक र यथार्थ संरचना निर्माण गर्ने वा छोटो समयको स्मृतिमा रहेका सैद्धान्तिक ज्ञान एवं सूचनालाई प्रयोगात्मक क्रियाकलापद्वारा लामो समयको स्मृतिमा सुरक्षित गर्ने काम गृहकार्य भएकाले यसलाई समग्र सिकाइ प्रक्रियाको परिपूरकसमेत मानिन्छ,’ सोही विद्यालयका अर्का शिक्षक गौरव केसी भन्नुहुन्छ ।
‘शिक्षकको प्रत्यक्ष निर्देशनमा समूहमा रहेर गरेका कार्यको प्रभाव वैयक्तिक अनुभव र अनुभूतिमा ढाल्ने वा सैद्धान्तिक सिकाइलाई आफैंले प्रयोग गरेर पुनर्बल प्रदान गर्ने काम गृहकार्यले गर्ने भएकाले जहिले पनि यो मननयोग्य र सिर्जनात्मक हुनुपर्छ भनिन्छ,’ उहाँको कथन रहेको छ ।
गृहकार्यप्रतिको अवधारणा नेपाली परिवेशमा समान पाइँदैन । यसैले विद्यालयपिच्छे अझ शिक्षकपिच्छे गृहकार्यको उद्देश्यगत एवं प्रयोजनपरक बुझाइ फरक–फरक देखिन्छन् । गृहकार्यको प्रकृति निर्धारणमा वर्तमान सामाजिक परिवेश र अभिभावकहरूको व्यस्त जीवनशैलीको समेत प्रत्यक्ष÷अप्रत्यक्ष प्रभाव परेको देखिन्छ । शिक्षा– समाज परिवर्तन र व्यक्तिको सामाजिकीकरण दुवै प्रयोजनका लागि हुने भए पनि गृहकार्यको प्रभावकारिता, सिकाइ प्रक्रियामा पुग्ने सहयोग एवं बालबालिकाको सर्वाङ्गीण विकासका दृष्टिले अभिभावकभन्दा शिक्षक नै बढी जिम्मेवार देखिन्छन् । शिक्षकको शिक्षा वा सिकाइप्रतिको अवधारणा र आधुनिक शैक्षिक प्रविधिप्रतिको चेतनास्तरका आधारमा गृहकार्यको प्रयोजन र प्रकृतिगत भिन्नता स्पष्ट रूपमा देखिन्छ ।


शिक्षक तालिम तथा शिक्षक केन्द्रित बिएड, एमएड कार्यक्रमबाट उत्पादित जनशक्ति यस क्षेत्रमा संलग्न भए पनि धेरै शिक्षक पाठ्यपुस्तक र पाठ्यक्रमबीचको अन्तर तथा पाठ्यक्रमका उद्देश्य पूरा गर्न साधनका रूपमा पाठ्यपुस्तक प्रयोग भइरहेको भन्ने विषयमा सचेत पाइँदैन । पाठ्यपुस्तक पढाउनु अनि पाठ्यपुस्तकमै रहेका अभ्यासमध्ये केही छानेर गृहकार्यका रूपमा दिनुमै आफ्नो पेसागत कर्तव्य पूरा भएको ठान्ने शिक्षकको संख्या निकै बढी देखिन्छ । पाठ्यपुस्तकमा मात्र केन्द्रित भइदिँदा पाठ्यक्रमको उद्देश्य र कक्षाकोठाका गतिविधि ‘कामकुरो एकातिर, कुम्लो बोकी ठिमीतिर’ महसुस हुन्छ केहीको धारणा रहेको छ । हुनत शिक्षक दत्त भन्नुहुन्छ – १० कक्षाका विद्यार्थीहरुलाई कोर्स अनुसार मात्रै हामी गृहकार्य दिन्न । एसइइको तैयारी पनि गृहमाध्यमले दिने गरिएको बताउनुभयो ।
विद्यार्थीलाई बुझाएर मात्र सिर्जनात्मक गृहकार्य दिँदा प्रभावकारी हुने कुरा अध्ययनहरूबाट स्पष्ट भइसकेको छ । हाम्रो सन्दर्भमा भने निम्न प्रकृतिको गृहकार्य दिने गरेको देखिन्छ – कक्षामा पढाइएका पाठसँग सम्बन्धित अभ्यास, कक्षामा पढाउन नभ्याएका कुरा, कक्षामा पढाएका कुराको पुनरावृत्ति हुने अभ्यास, कक्षामा पढाएको भन्दा सजिलो अभ्यास जो उनीहरू स्वयं गर्न सकुन्, कक्षामा पढाएको भन्दा अप्ठ्यारो अभ्यास जसका बारेमा उनीहरू घोत्लिन सकुन् र विद्यार्थीलाई व्यस्त राख्न विषयवस्तुसम्बद्ध कुनै पनि काम रहेको छ ।
विद्यालयबाट घरमा आएपछि चकचक मात्र गर्ने, मोबाइलमा मात्र रमाउने भएकाले एकथरी अभिभावक धेरै किताब र धेरै गृहकार्य नदिने स्कुललाई स्तरहीन स्कुल मान्छन् । यसैले घर आएपछि सरासर गृहकार्य गरोस्, त्यतिन्जेलमा सुत्ने बेला भइहाले टन्टा नै खतम भन्ठान्ने अभिभावक बच्चालाई महँगो स्कुल पठाउन पाएकामा दंग छन् । तर उसको स्तरअनुकूलको सिकाइ तथा संवेगात्मक विकासमा बेखबर नै रहन्छन् । भुल्ने र भुलाउने कामका रूपमा गृहकार्य दिने भएपछि विद्यार्थीको सिकाइस्तरमा सकारात्मक प्रभाव नपर्नु स्वाभाविकै हो । सामान्यतया प्राइमरी तहका विद्यार्थीलाई संरचनात्मक गृहकार्य दिनु उपयुक्त हुँदैन । आफ्ना परिवार, समाज, व्यक्ति र कामबारे वर्णन गर्न भने लगाउन सकिन्छ । ‘५ कक्षाभन्दा माथि मात्र तहअनुरूपका गृहकार्य दिनु उपयुक्त हुन्छ,’ मोर्डन नेपाल सेकेन्ड्ररी स्कूलका कोर्डिनेटर शिवराम झा ‘गुड्डु’ को सुझाब रहेको छ ।


‘म आफै अधिकांश कक्षामा पढाउन जान्छु, प्राथमिकमा गृहकार्य दिन्न तर त्यो भन्दा माथिका लाई प्रायः दिने गर्छु,’ उहाँको कथन रहेको छ ।
‘गृहकार्यले विद्यार्थीलाई खोजमुखी तथा सिर्जनशील बनाउँछ,’ शिक्षक केसीको तर्क रहेको छ ।
कक्षाकोठाबाट बाहिर आउँदा विद्यार्थी अघाएको होइन, खुलदुलीले भरिएको हुनुपर्छ । परम्परागत पढाइलेखाइमा जस्तो गुरुले समस्या समाधान गरिदिने होइन, समाधानका लागि बाटो देखाइदिने र सिकाइप्रति भोक जगाइदिने हो । सामाजिक शिक्षा पढेपछि विद्यार्थी तथ्यांक कण्ठ गर्ने होइन, आफ्नो समाजका सदस्यका पेसा, आर्थिक स्थिति, शिक्षा र स्वास्थ्य अवस्था बुझ्ने र विश्लेषण गर्न सक्ने हुनुपर्छ । फोहोर व्यवस्थापन, वर्गीकरण र पुनः प्रयोग उसले किताबका चित्रबाट बुझ्ने होइन, व्यावहारिक रूपमा बुझ्नुपर्छ । सामान्य मेसिन पढेपछि पहिलो, दोस्रो र तेस्रो क्लास लिभर दैनिक जीवनमा कसरी सहयोगी बनेका छन् र व्यवहारका कठिनाइमध्ये कुन–कुन क्षेत्रमा लिभरको प्रयोग गर्न सकिन्छ ? गृहकार्य यस्ता विषयमा केन्द्रित हुनुपर्छ केही विज्ञ शिक्षकहरुको सुझाब रहेको छ ।
ड्युक युनिभर्सिटीका प्रोफेसर ह्यारिस कुपरले गरेको एक अध्ययनले गृहकार्य दिनु महत्वपूर्ण देखाएको छ तर यसका बारेमा गरेका अन्य अध्ययन र अनुसन्धानले एकै किसिमको तथ्य देखाउँदैनन् । प्रोफेसर ह्यारिस कुपरले प्राथमिक विद्यालयमा पहिलो कक्षामा प्रतिदिन १० मिनेटको मात्रै गृहकार्य दिनुपर्ने सिफारिस गरेका छन् । त्यसपछिका वर्षमा प्रति कक्षा १० मिनेट थप्दै जानुपर्ने उनको तर्क छ । जसले गर्दा विद्यार्थी १२ औँ कक्षामा पुग्दा दैनिक १२० मिनेटको गृहकार्य पूरा गर्न सक्षम हुन्छन् ।
तर उनको विश्लेषणले गृहकार्य गर्ने प्राथमिक तहका विद्यार्थीको शैक्षिक गुणस्तरमा उल्लेखनीय उपलब्धि भएको प्रमाणित गरेको छैन । यसका साथै प्रोफेसर कुपरको अनुसन्धानले बालबालिकालाई दिइने गृहकार्यले उनीहरूमा शारीरिक र भावनात्मक तनाव निम्त्याउने देखाएको छ । विद्यालयले दिने गृहकार्यका कारण बालबालिकामा पढाइबारे नकारात्मक मनोवृत्ति सिर्जना गरेको पाइएको छ ।
हुनत यस्ता अनुसन्धान ठाउँ अनुसार फरक पनि हुन सक्छ । गृहकार्य नदिदा विद्यार्थी पढाइमा गम्भीर नहुने पनि देखिएको आफूले अनुभूति गरेका शिक्षक झा बताउनुहुन्छ ।