

जनकपुरधाम ।
रामजानकीको वैवाहिक कार्यक्रम सम्पन्न भएपछि अयोध्याबाट आएका बरियाती(जन्ती) हरु जनकपुरधामबाट प्रस्थान गरेको छ । बिहान जलपान गरी कलवार कुट्टीबाट महोत्तरीको जलेश्वर भइ प्रस्थान गरेको छ ।

जलेश्वरमा बरियातीहरुलाई भव्य स्वागत गरिएको छ । अहिले बरियातीहरु सर्लाहीको मलंगवामा पुगेका छन् । मलंगवामा भोजनको कार्यक्रम राखिएको छ ।
यसअघि जलेश्वरबाट मनरासिसवामा पुगेपछि सो नगरपालिकाका मेयर मोहन पाण्डेको नेतृत्वमा बरियातीहरुलाई स्वागत गरिएको छ । बरियातीसंगै रहेका विश्व हिन्दू परिषद् धनुषाका अध्यक्ष संतोष साहका अनुसार जलेश्वर र मनरा सिसवामा जलपान(खाजा)को कार्यक्रम पनि राखिएको थियो ।
आज राती बीरगञ्जमा बरियातीहरुलाई बस्ने कार्यक्रम रहेको छ । साहका अनुसार मलंगवामा भोजनपछि बरहथवा, नयाँरोड हुँदै बीरगञ्ज जाने कार्यक्रम रहेको छ ।
पहिला गढीमाइ भएर बीरगञ्ज पुग्ने कार्यक्रम थियो तर गढीमाइमा मेला र ट्राफिक समस्याका कारण गढीमाइ रुट परिवर्तन गरिएको छ ।
अयोध्या स्थित रामजन्मभूमि तीर्थक्षेत्र ट्रष्टका महासचिव चम्पत रायका अनुसार आफू ठूलठूला कयौ कार्यक्रममा सहभागि भएको तर जति स्वागत मिथिलामा पाए त्यति जीवनमा कहि नपाएको जानकारी दिनुभयो । महासचिव राय शनिवार नै जनकपुरधामबाट प्रस्थान गरेका थिए तर दशरथजीको भूमिकामा आएका विश्व हिन्दू परिषद्का अन्तर्राष्ट्रिय मन्त्री राजेन्द्र सिंह ‘पंकज’ ले आज बरियातसिँगै बीरगञ्ज जानु भएको छ । पंकजले अयोध्याबासी पनि धन्य भएको र आफूपनि वैवाहिक कार्यक्रममा सहभागि भएर धन्य भएको मोडेल खबरलाई बताउनुभयो ।
