

जनकपुरधाम ।
सीताराम विवाहको भोलीपल्ट अर्थात शनिबार जनकपुरधाममा ३४ जोडीको सामूहिक विवाह भएको छ । विश्व हिन्दू परिषद नेपालको आयोजनामा जानकी मन्दिरको प्रांगणमा ३४ जोडीको सामूहिक विवाह गराइएको हो ।
जानकी मन्दिरको प्रांगणमा मैथिल परम्परा अनुसार ३४ जोडीको स्वयम्बर तथा विवाह सम्पन्न भएको र उनीहरुको सम्पूर्ण वैवाहिक खर्च परिषदले व्यवस्थापन गरेको परिषदका धनुषा अध्यक्ष सन्तोष साहले जानकारी दिए ।
अध्यक्ष साहका अनुसार प्रत्येक जोडीका लागि सुनको मंगलसुत्र, बेहुलीका लागि १५ सेट साडी, श्रृंगारपटार, बेहुलाका लागि पाइन्टसर्ट, धोतीकुर्ताको व्यवस्था गरिएको थियो । यसैगरी भान्छा कोठामा प्रयोग हुने भाडा वर्तन, एक सेट ओछ्यान र बेहुला–बेहुली पक्षका २५÷२५ जनाका लागि खाजा÷खानाको व्यवस्था समेत परिषदले गरि दिएको थियो ।
विवाह गर्नु अघि बेहुलाहरुलाई दिउँसो रथमा राखेर नगर परिक्रमा गराइएको थियो ।
जनकपुरधामलाई विश्वमा वैवाहिक स्थलको रुपमा परिचित गराउन सामूहिक विवाहको आयोजना गर्ने गरेको अध्यक्ष साह बताउँछन् । विवाहपञ्चमीको अवसरमा परिषदले विगत ६ वर्षदेखि सामूहिक विवाहको कार्यक्रम गराउँदै आएको छ ।
परिषदको आयोजनामा यसरी विवाह गर्ने प्रायः आर्थिक अवस्थाले कमजोर परिवारहरु हुन्छन् । २० वर्ष उमेर पूरा भएकाहरुबीच उनीहरुको अभिभावकको सहमतिमा विवाह गराइदिने गरिन्छ । ‘अभिभावक र बेहुला बेहुलीको सहमतिमा हामीले विहेको व्यवस्थापन गरेका छौं । बेहुला–बेहुलीको नागरिकताको आधारमा २० वर्ष पुगेकालाई मात्रै हामीले विवाह गराएका हौं,’ अध्यक्ष साहले भने ।

