

जनकपुरधाम ।
जानकी मन्दिरमा विवाह सम्पन्न भएपछि प्रत्येक वर्ष झैँ फेरी जानकी रामको भइन् । विवाहपछि मिथिलाञ्चलमा बेहुलालाई विभिन्न परिकार खुवाउने परम्परा रहेको छ । जसलाई राम कलेवा भनिन्छ ।
रामकलेवाका लागि रघुवर चारै भाई जानकी मन्दिरको प्राङ्गणमा बनाइएको मडवामा बसेर भोजन ग्रहण गरे । मड़वालाई सजाउने कुनै आवश्यक्ता थिएन । राति विवाह भएकै मडवामा बसाएर चारै भाईलाई भोजन गराइयो । रामकलेवा विधि चलिरहेकै समयमा मिथिलानी नारीहरुले गीतकै माध्यमले राम, भरत, लक्ष्मण, शत्रुध्न तथा अयोध्यावासीलाई जिस्काए ।
खीरके अनादर नहि करियौ यौ दुलहा
खीरके अनादर नहि करियौ
खीरके उपरमे बरफी राखल अछि
कोहवरमे मिलत असर्फी यौ दुलहा
खीरके अनादर नहि करियौ यौ दुलहा ।।
मिथिलाञ्चलमा मौहकका लागि लगाइएको खीर बेहुलाले सहजै नखाने परम्परा रहेको छ । रामले खान नमानेपछि मिथिलाका नारीहरु गाउँछन् ।
संगी पुछियौ ग दुलहा रुसल छथि किए
जनकपुरसन बजार घडी मिलए हजार
बिना अर्थक मनोरथ पुरबै कोना
संगी पुछियौ ग दुलहा रुसल छथि किए
जनकपुरसन बजार सुट मिलए हजार
संगी पुछियौ ग ।।
राजा जनकको भूमिकामा रहेका जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले भगवान रामलाई कोशेली दिएपछि खीर खान शुरु गरे पछि फेरी गीत गाउने महिलाहरुको टोलीले गाए ।
खीर खाउ यौ दुलहा, खुब मटाउ यौ दुलहा
अपन चोटकल चोटकलसन गालके फुलाउ यौ दुलहा
मैया पुछत बौवा दुबर छी किए
अहाँ अपन साउसके नाम नहि हँसाउ यौ दुलहा
खीर खाउ यौ दुलहा।।
रघुवर चारै भाईका साथै अयोध्याबाट आएका जन्तीहरुलाई समेत आदरका साथ भोजन ग्रहण गराइयो । जन्ती तथा राजा दशरथलाई समेत गीत गाउने महिलाहरुले मैथिली परम्परा अनुसार लोकगीत डहकन गाएर गाली गरे । सो हास्यपरिहासको माहौलले जानकी मन्दिरको वातावरणलाई अदभूत बनाएको थियो । यो राम कलेवा विधिसंगै साताव्यापी विवाहपञ्चमी महोत्सव सम्पन्न भएकोछ । रामकलेवामा सहभागी जन्तीहरुलाई कपडा, प्रसाद आदि दिएर विदाई गरेका थिए । साथै जानकी मन्दिरका महन्थ वैष्णवले भगवान राम चारै भाईलाई विदाईमा घड़ी दिएका थिए ।
अयोध्याबाट जन्तीमा आएका राजेन्द्र सिंह पंकजले दशरथको भूमिका निर्वाह गरे । उनले मिथिलाको स्वागत देखेर आफू गदगद भएको प्रतिक्रिया दिए । उनले यस्तो स्वागत आफूले कल्पनासम्म नगरेको बताए । मिथिला वास्तवमै अतिथि सत्कारमा अगाडी रहेको आजको विदाईले प्रमाणित गरेको उनले सुनाए ।

