

एजेन्सी ।
सिरियाका विद्रोहीहरू राजधानी दमास्कसतर्फ अघि बढिरहेका छन् । यसैबिच, विद्रोहीहरूले दक्षिणी सिरियाको डेराका अधिकांश भाग कब्जा गरेका छन् ।
डेरा त्यही क्षेत्र हो जहाँ सन् २०११ मा राष्ट्रपति बसर अल असदको विरोध सुरु भएको थियो । त्यसपछि देशमा गृहयुद्धको अवस्था सिर्जना भएको थियो । त्यस यता देशभर पाँच लाखभन्दा बढी मानिस मारिएका छन् ।
यो क्षेत्र रणनीतिक र प्रतीकात्मक रूपमा निकै महत्त्वपूर्ण छ । यो क्षेत्र जोर्डनको सिमानामा रहेको मुख्य क्रसिङको नजिक छ । बेलायतमा रहेको सिरियन अब्जर्भेटरीले सरकारी सेनासँगको ‘हिंसक झडप’ पछि ’स्थानीय विद्रोही समूहहरू’ ले सेनाको धेरै स्थानहरू कब्जा गर्न सफल भएको बताएको छ ।
जोर्डनका आन्तरिक मन्त्रीले भने, ‘सिरियाको दक्षिणी भागमा सुरक्षा अवस्थालाई ध्यानमा राख्दै सिरियाको यस क्षेत्रसँगको सीमा बन्द गरिएको छ ।’ हालै विद्रोहीहरूले हमामा कब्जा गरेका थिए । त्यहाँबाट हजारौँ मानिसहरू भागेका छन् ।
सिरियाली सेनाले गत हप्ता अलेप्पोको नियन्त्रण गुमाएपछि राष्ट्रपति बसर अल–असदका लागि यो दोस्रो ठुलो धक्का थियो । गत साता सिरियामा विद्रोहीहरूले अचानक आक्रमण गर्न थालेपछि अल्पसङ्ख्यक समुदाय अलावाइटका मानिसहरू घर छाड्न थालेका छन् ।
