

जनकपुरधाम ।
सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवको मुख्य दिन आज भगवान रामजानकीको स्वयम्बर सम्पन्न भएको छ । जानकी मन्दिर तथा राम मन्दिरको डोला रंगभूमि मैदानमा पुगेर स्वयम्बर विधि सम्पन्न भएको हो ।
राम मन्दिरको डोला मन्दिरका महन्थ राम गिरीको नेतृत्वमा दर्जनौँ सवारी साधन र बाजागाजाका साथ निस्केको थियो भने जानकी मन्दिरको डोलाको नेतृत्व उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले गरेका थिए ।
रंगभूमी मैदान पुगेको डोला परिक्रमा गरेपछि रामजानकीको स्वयम्बर सम्पन्न भएको हो । स्वयम्बरको समयमा हेलिकप्टरबाट पुष्पवृष्टि समेत गरिएको थियो ।
जानकी मन्दिर परिसरमा आज राति रामजानकीको वैवाहिक कार्यक्रम मिथिला संस्कृति अनुसार सम्पन्न हुनेछ ।
वैवाहिक कार्यक्रममा राम मन्दिरका महन्थ राम गिरीले रामका बुबा अर्थात् राजा दशरथको भूमिका तथा जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव सीताको बुवा अर्थात् राजा जनकको भूमिका निर्वाह गर्नु हुनेछ । वैवाहिक कार्यक्रमका लागि जानकी मन्दिरलाई दुलही झैं श्रृङगारिएको छ ।
त्यस्तै वैवाहिक कार्यक्रमका लागि जानकी मन्दिर परिसरमै मण्डप समेत बनाइएको छ । यस मण्डपमा रामजानकीको वैवाहिक कार्यक्रम हुनेछ ।


