

सुजीतकुमार झा
जनकपुरधाम ।
राम जानकी विवाह पञ्चमी महोत्सवको अवसरमा जनकपुरधामको प्रसिद्ध धार्मिक स्थल जानकी मन्दिरमा आज बिहानै देखी भतmजनहरुको घुँइचो लागेको छ ।

विवाह पञ्चमीका दिन भगवान राम र जानकीको निष्ठा पूर्वक पूजा गर्दा मनोवाञ्छित फल प्राप्त हुने जनविश्वास रहेको छ ।
यसै जनविश्वासका कारण ठूलो संख्यामा भतmजनहरु विवाह पञ्चमीमा राम जानकीको पूजा गर्न जनकपुरधाम आउँछन । रामायणमा तुलसीदासले लेखिएको पंक्ति उद्धृत गर्दै जानकी मन्दिरका महन्थ रामतपेश्वर दाश भन्छन्, ‘सिया रघुवीर विवाह जे गावही, सुनही तिनहुँ सदा उछाह मंगलाय तन रामजसो ।’
बालकाण्डको अन्तिममा लेखिएको यस पंक्तिको अर्थ हो, भगवान् राम र सीताको यस अलौकिक विवाहलाई जसले हृदयदेखि सुन्ने, गाउने र वाचन गर्ने गर्छ, उसको जीवन सदैव मंगलमय हुन्छ । त्यसैले पनि विवाहपञ्चमी महोत्सव जनकपुरधामको घर–घरमा सुनिने, गाइने र वाचन गर्ने गरिन्छ । वर्षौंदेखि जनकपुरधामले धान्दै आएको यस सांस्कृतिक विरासत मिथिलाका अन्य सहरमा फैलिँदै छ ।
सात दिवसीय कार्यक्रम अन्र्तगत आज जनकपुरको जानकी मन्दिरमा वैदिक परम्परा अनुसार राम जानकीको विवाह आजराती हुने छ । पण्डितद्वारा मन्त्रोचारणसँग हुने सो विवाहको तैयारी जानकी मन्दिरको प्रागंणमा भइरहेको छ । विहेको लागि जानकी मन्दिरको अगाडी मडबा बनाइएको जानकारी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले दिएका छन । यसैगरी अयोध्याबाट आएका जन्तीहरु सहित सयौ जन्तीहरुको सहभागिता रहनेछन ।
विहेभन्दापूर्व एतिहासिक रंगभूमि मैदानमा स्वयंवर पनि आजै गरिने छ । स्वयंवरका लागि जानकी मन्दिर र राम मन्दिरबाट छुटा–छुटै भगवानको डोला रंगभूमि मैदान पुग्ने कार्यक्रम रहेको छ । सोहि स्थलमा स्वयंवर हुनेछ । स्वयवरमा विशेष पूजापछि रामको डोलालाई जानकीको डोलाले परिक्रमा गर्ने कार्यक्रम राखिएको छ । स्वयंवर निकाल्ने जानकी मन्दिर र राम मन्दिरमा तैयारी भइरहेको छ ।
स्वयंवर पछि जनकपुरधाममा भव्य शोभा यात्रा निकालिने छ । विवाह र स्वयंबर हेर्न ठाउँ ठाउँबाट भक्तजनहरु आएका छन । सातसात दिवसीय विवाहपञ्चमी महोत्सव अन्तर्गत नगर दर्शन, फुलवारी लिला, धनुष यज्ञ, तिलकोत्सव, मटकोर सम्पन्न भइसकेको छ । आज केहीबेरमा स्वम्वर हुनेछ राती बिहे तथा राम कलेवा भोली हुने छ ।
त्रेतायुगमा सीता र रामको जनकपुरधाममा विवाह भएको थियो। यो पर्व त्यही परम्पराको निरन्तरता हो । छोरी सीताको विवाहका लागि पिता जनकले शिवको धनुषमा ताँदो चढाउने प्रतिस्पर्धासहितको स्वयंवर आयोजना गरेका थिए। अयोध्याका राजकुमार रामले धनुष उचाली ताँदो चढाउन लाग्दा भाँचिएर तीन टुक्रा भएको थियो ।
रामले विवाहको सर्त जितेको हुनाले उनलाई सीताले वरमाला लगाइदिएकी थिइन् । ‘पाँच शताब्दी पुरानो परम्परालाई हामीले निरन्तरता दिइरहेका छौं,’ जानकी मन्दिरका उत्तराधिकारी महन्थ वैष्णव बताउनुहुन्छ ।
पहिला अयोध्याबाट जन्ती ल्याउने चलन थिएन । अयोध्याबाट अनौपचारिक रूपमा आउनेहरूलाई जनकपुरबासीले जन्ती मानेर स्वागत गर्थे । ‘तर २०६१ सालदेखि अयोध्याबाट विधिवत् जन्ती ल्याउन थालिएको हो,’ वैष्णव बताउँछन् ।
‘जनस्तरमा नेपाल–भारत सम्बन्ध अत्यन्त सघन छ । यसलाई ‘रोटी–बेटी’ को सम्बन्ध भनेर पनि अथ्र्याइन्छ। यसको सुरुवात जानकीले गरेकी थिइन्। त्यसैले विवाह महोत्सव दुई देशबीचको सांस्कृतिक सेतु हो, नेपाल भारत खुल्ला सीमा संवाद समूहका अध्यक्ष राजीव झा बताउनुहुन्छ ।
