

सुजीतकुमार झा
जनकपुरधाम
व्यापक व्यवस्थाको बाबजूद रामजानकी विवाहपञ्चमी महोत्सवमा आएका सयौ तीर्थ यात्री खुल्ला चौरमा रहन बाध्य भएका छन् । जानकी मन्दिरमा सयौ व्यक्ति त्यतिकै घरबाट ल्याएका समान्य चादर राखेर सुतीरहेको देखियो । यही स्थिति जनकपुरधामको गंगासागरको आरतीघाटमा पनि थियो ।

विक्रम यादव समस्तीपुरबाट आएका छन् । उनले नजिकका दूई तीनवटा होटेलमा रुमका लागि गएको थिए, रुम नभेटाएपछि यही रहन बाध्य भएको बताए ।

निर्मलीबाट आएकी फुलो देवीको पनि यही अवस्था रहेको छ । उनको सात जना सदस्य त्यतिकै मन्दिरको प्रागंणमा रहन बाध्य भएका छन् ।
जानकी मन्दिरको प्रागंणमा प्रबचनका लागि पण्डाल लगाइएको छ । सो पण्डालमा मात्रै ४ हजार व्यक्ति रहेका छन् तर पण्डाल नरहेको स्थानमा पनि त्यतिकै संख्यामा तीर्थ यात्री छन् । मन्दिर प्रागंणमै ठूलो संख्यामा तीर्थयात्री बसेपछि शौचालयको पनि समस्या भएको छ ।

नगरको विभिन्न स्थानमा जातीय संस्थाहरु, युवा क्लबहरु, स्थानीय सामाजिक कार्यकर्ताहरु पण्डालहरु लगाएका छन् कति स्थानमा खाली पनि रहेको देखियो । समन्वयको अभाव यस्तो अवस्था भएको स्थानीय जानकारहरु बताउँछन् ।
प्रदेश सरकार र जनकपुरधाम उपमहानगरपालिकाका प्रमुखहरु व्यवस्थालाई लिएर निकै प्रचार गरेका थिए तर ती प्रचारको हावा विवाह भन्दा पहिला नै निस्केको छ ।
