

सुजीतकुमार झा
जनकपुरधाम ।
जनकपुरधामको प्रसिद्ध धार्मिक स्थल राम मन्दिरमा भगवान रामको तिलकोत्सव आज एक समारोहका बीच सम्पन्न भएको छ । तिलकोत्सवका लागि मिथिला दरबार भनिने जानकी मन्दिरबाट अयोध्या दरबार अर्थात राममन्दिरमा सयोको संख्यामा पाहुर आएको थियो ।
पाहुर लिएर जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव र उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णव स्वयं अयोध्या दरबारमा आएका थिए । अयोध्या दरबारमा राम मन्दिरका महन्थ राम गिरि र अयोध्याबाट दशरथको भूमिका आएका राजेन्द्र सिंह ‘पंकज’ ले स्वागत गरेका थिए ।
राम मन्दिरमा रहेका भगवानको आरती पछि समधी मिलान कार्यक्रम समेत भएको छ । मिथिला दरबारबाट आएका उत्तराधिकारी महन्थ बैष्णवले दूईजनासँग समधी मिलान गरेका छन् । राम मन्दिरका महन्थ राम गिरि र अयोध्याबाट दशरथको भूमिका आएका राजेन्द्र सिंह ‘पंकज’ सँग । राम मन्दिरका महन्थलाई पनि दशरथकै रुपमा यहाँ लिने गरिन्छ ।
समधी मिलान अवसरमा अयोध्याबाट आएका जन्तीका साथै मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंह, पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधिको पनि उपस्थिति रहेको थियो ।
तिलकको क्रममा अयोध्याबाट आएका भगवान राम चारै भाइको झाँकीलाई तिलक गरियो । ‘यसपालीको विवाह अब पक्का भयो,’ अयोध्याबाट दशरथको भूमिका आएका पंकजले मोडेल खबरलाई बताउनुभयो ।
तिलकोत्सवको संयोजन जनकपुरधामको चर्चित युवा क्लव महावीर युवा कमिटीले गरेको छ । कार्यक्रमको अध्यक्षता पनि महावीरका अध्यक्ष अजय गुप्ताले गरेका थिए ।
‘अब हामी बरियाती(जन्ती)को तैयारीमा लागियो, २१ गते अयोध्याबाट आएका बरियातीसँगै स्वयंवरका लागि अयोध्या दरबारका हामीहरु रंगभूमि मैदान पुग्नेछौ,’ महावीरका पूर्व अध्यक्ष विनोद चौधरीले बताउनुभयो । बरियातीमा राम युवा कमिटी र महावीर युवा कमिटीका सहभागि रहने गर्छन् ।
यता अयोध्याबाट आएका बरियातीको जनकपुरधामको ठाउँ–ठाउँमा स्वागत भइरहेको छ ।

