

काठमाडौँ ।
ओपनर लोकेश बमको विस्फोटक ब्याटिङमा विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो जित दर्ता गरेको छ ।
बुधबार भएको दिनको दोस्रो खेलमा विराटनगर लुम्बिनी लायन्सलाई २ विकेटले पराजित गर्दै रोमाञ्चक जित निकालेको हो । विराटनगरको यो एनपीएलको तेस्रो खेलमा पहिलो जित हो। लुम्बिनीले भने एनपीएलको पहिलो खेलमा नै हार भोगेको छ ।
लुम्बिनीले दिएको १ सय ९२ रनको विशाल लक्ष्य पछ्याएको विराटनगरले १ बलअगावै ८ विकेटको क्षतिमा भेट्टायो । विराटनगरका ओपनर लोकेश बम ४७ बलमा ३ चौका र ५ छक्का सहयोगमा ७१ रन बनाउँदै पेभेलियन फर्के । मार्टिन गुप्टिल २८ रन बनाउँदा दुर्गेस गुप्ताको बलमा बोल्ड आउट भए । बसिर अहमद ४० रन बनाउँदा क्याच आउट हुन पुगे । प्रतिस जिसी ६ रनमा पेभेलियन फर्के ।
लुम्बिनीका दुर्गेश गुप्ताले तीन विकेट झारे । साद विन जफर र रामोन सिमोन्डले समान दुई विकेट लिए। विवेक यादवले एक विकेट लिए । त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विराटनगरले टस जितेर पहिले फिल्डिङ रोजेपछि ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ९१ रनको योगफल तयार पारेको थियो ।
एनपीएलमा पहिलो खेल खेलिरहेको लुम्बिनीले अहिलेसम्मकै ठूलो योगफल तयार पारेको हो । यसअघि सुदूरपश्चिमले विराटनगरविरुद्ध नै १ सय ८२ रनको विशाल योगफल तयार पारेको थियो । कप्तान रोहित पौडेलले बनाएको ४६ रन नै लुम्बिनीका लागि सर्वाधिक रह्यो ।
कप्तान रोहितले २९ बलमा ४ चौका र २ छक्का प्रहार गर्दा राजेश पुलामीको बलमा प्रतिश जिसीको हातबाट क्याच आउट भए । १७ बलमा १ चौका र ३ छक्का प्रहार गर्दै ३० रन बनाएका टम मोर्स रन आउट भए ।
ओपनर आशुतोष घिरैया १५ रन बनाउँदै रन आउट भए। अर्जुन साउद १७ रनमा इस्मत आलको बलमा बोल्ड आउट भए । सन्दीप जोरा १२ रनमा रनआउट हुन पुगे । साद विन जफर १५ रन बनाउँदा सन्दीप लामिछानेको बलमा मार्टिन गुप्टिलको हातबाट क्याच आउट भए । वेन कटिङ ६ रनमा रनआउट भए । विवेक यादव १९ र रेमोन सिमोन्ड २ रनमा अविजित रहे। लुम्बिनीका चार खेलाडी रन आउट भए । विराटनगरका लागि कप्तान सन्दीप लामिछाने, इस्मत आलम र राजेश पुलामीले समान एक विकेट लिए ।
