

एजेन्सी ।
भारतीय प्रान्त पन्जाबको अमृतसरस्थित स्वर्ण मन्दिरमा बुधबार बिहान गोली प्रहार भएको छ ।
अकाली दलका नेता तथा राज्यका पूर्वमुख्यमन्त्री सुखवीर सिंह बादल अकाल तख्तको सजाय भोगिरहेको ठाउँमा गोली चलेको हो । भिडिओमा एक वृद्ध व्यक्ति सुखवीर सिंह बादलतर्फ अघि बढिरहेको देख्न सकिन्छ । अनि उनले पेस्तोल निकालेर फायर गर्छन् तर बादलसँगै उपस्थित मानिसले उनलाई समात्छन् ।
समाचार एजेन्सीका अनुसार आक्रमणकारीको साथबाट एउटा पेस्तोल बरामद भएको छ । घटनालगत्तै सुरक्षाकर्मीले सुखवीर बादललाई घेरा हालेका थिए । अमृतसरका प्रहरी आयुक्त गुरप्रीत सिंह भुल्लरले सुखवीर सिंह बादललाई सेवा गरिरहेका बेला आक्रमण गर्ने प्रयास भएको पुष्टि गरेका छन् ।
प्रहरीका अनुसार गोली प्रहार गर्ने व्यक्ति नारायण सिंह हुन् । नारायण सिंह खालिस्तान आन्दोलनको समयमा सक्रिय थिए र खलिस्तान लिबरेसन फोर्स र अकाल फेडरेसनसँग सम्बद्ध रहेको बताइएको छ ।
सोमबार अकाल तख्तले बादल र उनको मन्त्रीमण्डलका अधिकांश सदस्यलाई धार्मिक सजाय सुनाएको थियो । यसअन्तर्गत बादललाई स्वर्ण मन्दिरको गेटमा भाला लिएर पहरा दिने दण्ड दिइएको थियो ।
