

जनकपुरधाम ।
सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव अन्तर्गत आज तिलकोत्सव हुनेछ । त्रेता युगमा भगवान राम र सीताको विवाह भएको स्मरणमा प्रत्येक वर्ष मनाइने विवाहपञ्चमी महोत्सव अन्तर्गत आज तिलकोत्सव विधि हुनेछ ।
प्रत्येक वर्ष राममन्दिरको प्राङ्गणमा आयोजना हुने तिलकोत्सव कार्यक्रममा जानकी मन्दिरबाट ‘भार’ लिएर जानकी मन्दिरका महन्थ पुग्ने गर्छन् । प्रत्येक वर्ष विवाहपञ्चमी महोत्सव अन्तर्गत तिलकोत्सवमा जानकी मन्दिरका महन्थ र अयोध्या दरबारको प्रतिनिधित्व गर्ने जनकपुरधाम स्थित राम मन्दिरका महन्थ अंकमाल गर्दै समधी मिलन गर्छन् । तिलकोत्सवको अवसरमा दुवै पक्षबीच हास्य सपरिहास समेत हुने गर्छ ।
हुनत यस वर्ष मधेसका मुख्यमन्त्री सतिशकुमार सिंह आफै अयोध्या पुगेर तिलकोत्सव विधि समेत गरि सकेका छन् ।
विवाहपञ्चमीको पाँचौ दिन माता सीताको मटकोर हुनेछ । मटकोर विधि गंगासागर पोखरीमा हुनेछ भने छैठौँ दिन स्वयम्बर तथा जानकी मन्दिरमा वैवाहिक कार्यक्रम हुनेछ । सातौँ दिन रामकलेवा विधिसँगै यस वर्षको विवाहपञ्चमी विधिवत रुपमा सम्पन्न हुनेछ ।
