

जनकपुरधाम ।
महोत्तरीको मनरा सिस्वा नगरपालिका र एकडारा गाउँपालिकाको विभिन्न वडामा दलित, गरिब तथा विपन्न परिवारलाई ग्यास चुल्हा तथा सिलिण्डर वितरण गरिएको छ ।
मनरा सिस्वा नगरपालिकाको वडा नम्बर ८, ९ र १० तथा एकडारा गाउँपालिकाको १ देखि वडा ५ सम्मका दलित, गरिब तथा विपन्न परिवारलाई ग्यास चुल्हा तथा सिलिण्डर वितरण गरिएको हो । सुशिला ठाकुर मेमोरियल हेल्थ फाउण्डेसनको आयोजनामा भारत सरकारको उज्वला योजना कार्यक्रमबाट प्रेरित भएर नेपाल भारत मैत्री कार्यक्रम अन्तर्गत पछाडि पारिएका समुदाय एवं विपन्न परिवारलाई ग्यास सिलिण्डर तथा ग्यास चुल्हो वितरण गरिएको फाउण्डेसनका अध्यक्ष मिनाक्षी ठाकुरले जानकारी दिइन् । फाउण्डेसनको यो कार्यक्रम अन्तर्गत महोत्तरीको जलेश्वर नगरपालिका, मटिहानी नगरपालिका, मनरा सिस्वा नगरपालिका, एकडारा गाउँपालिका र पिपरा गाउँपालिकामा संचालनमा ल्याइएको उनले बताइन् । यी दूबै पालिकामा २ हजार बढी ग्यास चुल्हो तथा सिलिण्डर वितरण गरिएको फाण्डेसनका अध्यक्ष ठाकुरले जानकारी दिइन् ।
कार्यक्रममा लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष एवं महोत्तरी ३का सांसद महन्थ ठाकुर, मधेसको शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारी, विभिन्न वडाका वडाध्यक्षहरुको सहभागिता रहेको थियो ।
