

जनकपुरधाम ।
जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिगमा अनिल साहको कत्पानी पारीको मद्दतले लगातार दोस्रो जित निकालेको छ । सोमबार भएको दोस्रो खेलमा जनकपुर बोल्ट्सले कर्णाली याक्सलाई ८ विकेटले पराजित गरेको हो । अनिलको अविजित ६२ रन मदतमा जनकपुरले कर्णाली याक्सले दिएको १४२ रनको लक्ष्य १५ओभर १ बलमै २ विकेट गुमाएर पूरा गरेको हो । अनिलले ४२ बल खेल्दै ६ चौका र ३ छक्का प्रहार गरे । अनिलले आसिफ शेखसँग पहिलो विकेटका लागि ८४ रनको साझेदारी गर्दै जितको आधार तयार गरेका थिए । आसिफले २९ बल खेल्दै २ चौका र २ छक्का मदतमा ३६ रन जोडे ।
दोस्रो विकेटका लागि अनिल र लाहिरु मिलान्थाले ३३ रनको साझेदारी गरे । अघिल्लो खेलमा विराटनगर विरुद्ध अर्धतशक बनाएका मिलान्थाले १३ बलमा २ चौका र २ चौका प्रहार गर्दै २४ रन बनाए । जिम् नीशमले अविजित १६ रन योगदान गरे । ८ बल खेलेका उनले २ चौका र १ छक्का प्रहार गरे । कर्णालीका मौसम ढकाल र निशान मक्सुदले समान १ विकेट लिए ।
जनकपुरले पहिलो खेलमा विराटनगर किंग्सलाई पनि ८ विकेटले पराजित गरेको थियो ।
