

जनकपुरधाम ।
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा कर्णाली याक्सले जितका लागि जनकपुर बोल्ट्स समक्ष १ सय ४२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
जारी एनपीएलमा बनेको यो सर्वाधिक योगफल हो । यसअघि पहिलो खेलमा विराटनगरविरुद्ध जनकपुरले १ सय २८ रनको लक्ष्य पूरा गर्दै पहिलो जित निकालेको थियो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ४१ रनको योगफल तयार पारेको हो । सातौँ विकेटका लागि अर्जुन घर्ति र सोमपाल कामीले ५६ रनको साझेदारी गरेपछि कर्णालीले मध्यम योगफल तयार पारेको हो ।
अर्जुनले १९ औँ ओभरमा लगातार दुई छक्का र २ चौका प्रहार गरे। २२ बलमा २ चौका र २ छक्का प्रहार गर्दै ३३ रन बनाएका अर्जुन रनआउट भए । सोमपाल १३ बलमा २९ रनमा नटआउट रहे। नन्दन यादव शुन्य रनमा अविजित रहे ।
अलराउण्डर गुल्सन झाले बनाएको ३६ रन नै कर्णालीका लागि सर्वाधिक रह्यो । गुल्सनले २७ बलमा १ चौका र ३ छक्का सहयोगमा ३६ रन बनाउँदा किशोर महतोको बलमा बोल्ड आउट भए ।
त्यसअघि १४ बलमा १४ रन बनाएका शिखर धवन पाचौँ ओभरको दोस्रो बलमा हर्ष ठाकेरको बलमा बोल्ड आउट भए । ओपनर देव खनाल १ रन बनाएर आउट भए ।
जनकपुरका ललित राजवंशीले दोस्रो ओभरको दोस्रो बलमा देवलाई बोल्ड आउट गरे । बाबर हायात १२ रन बनाउँदा क्याच आउट भए । जिसन मक्सुद शुन्य रनमा नै जेम्स निसमको बलमा एलबीडब्लु धरापमा परे । चाडविक वाल्टन १ रनमा मोहम्मद मोहसिनको बलमा एलबीडब्लु आउट भए ।
जनकपुरका लागि मोहम्मद मोहसिनले दुई विकेट लिए । किशोर महतो, ललित राजवंशी, हर्ष ठाकेर र जेम्स निसमले समान एक विकेट लिए ।
