

जनकपुरधाम ।
धनुषाकै पुरानो उद्योगको रुपमा परिचित एभरेष्ट पेपर मिलका कर्मचारीहरु आन्दोलनमा उतरिएका छन् । विगत १५ महिनादेखिको तलब नपाएपछि मिलका सयौँ कर्मचारी आन्दोलनमा उतरिएका हुन् । वर्षोदेखिको विद्युतको बक्यौता मिलले राखेपछि नेपाल विद्युत प्राधिकरणले लाइन नै काटि दिएको छ । लाइन काटिएपछि मिलको सम्पूर्ण काम ठप्प भएको डेढ महिना भईसकेको त्यहाँका कर्मचारी जयकुमार यादवले बताए । १५ महिनादेखिको तलब बाँकी नै थियो त्यसमाथी उद्योगको काम नै ठप्प भएपछि आफूहरु डेढ महिनादेखि बेरोजगार भएर बसेका छौँ उनले दुखेसो पोखे ।
अर्का कर्मचारी कौशल साहले आफूहरुको सहमति बिना पेपर मिलको प्रशासनले जगेडामा समेत केही महिना खटाएको गुनासो गरे । उनले जगेडाको सूचना निकालिएको म्याद सम्पन्न भएपछि त्यसपछि कुनै सूचना नआउँदा कार्यालय आउजाउ मात्रै गर्ने गरेको सुनाए । हामीले उद्योग संचालन गर्ने वातावरण बनाई दिनुस, तलबकालागि केही महिना कुर्छौँ भनेर चेयरमैन ओमप्रकाश सर्राफलाई पटक पटक आग्रह गर्दा समेत नसुनेको उनले बताए ।
उद्योग बन्द भएका कारण एभरेष्ट पेपर मिलका कर्मचारीहरु बेरोजगार जस्तै भएका छन् । मिल प्रशासनले कार्यालय आएर बस्नेसम्मको ठाउँ नदिएपछि उनीहरु आन्दोलित भएका हुन् ।
बि.सं. २०३८ सालमा स्थापना भएको मिलमै कार्यरत रहेर अवकाश प्राप्त गरेका कर्मचारी हुन् सीताराम झा । उनले अवकाशपछिको उपदान र केही महिनाको तलब प्राप्त गरेका छैनन् । झाले पारिवारिक कलहका कारण एभरेष्ट पेपर मिल पिल्सिएको आरोप लगाए । उनले भने ‘यही उद्योग चलाएर यहाँका मालिकले अरु अरु उद्योग खडा गरे तर आज यही उद्योगलाई दुर्दशामा पुर्याउन कुनै कसर बाँकी राखेका छैनन् । यो समस्याको समाधान नगरिए मिलका मालिका बिरुद्ध प्रचारवाजी गर्ने चेतावनी त्यहाँका कर्मचारीहरुले दिएका छन् ।
२१ करोड बढी बिजुलीको बक्यौता बुझाउन एभरेष्ट पेपर मिलको बाँकी छ । यहाँबाट उत्पादन भएका कागज नेपालभरी आपूर्ती गर्नुका साथै भारत र जापानमा समेत आपूर्ती गरिन्थ्यो । एभरेष्ट पेपर मिल बन्द हुँदा त्यहाँ कार्यरत ३ सय बढी कर्मचारी प्रभावित भएका छन् ।
