

सुजीतकुमार झा
जनकपुरधाम।
रामजानकी विवाहपञ्चमी महोत्सवको तैयारी युद्धस्तरमा भइरहेको छ । जनकपुरधामको प्रसिद्ध धार्मिक स्थल जानकी मन्दिरलाई बेलुही झै सजाइएको छ । मंसिर २१ गते वैवाहिक कार्यक्रम रहेको छ ।
मंसिर १६ गतेदेखि साताव्यापी महोत्सव भइरहेको छ । पहिलो दिन नगर दर्शन कार्यक्रम रहेको छ । जानकी मन्दिरमा कृतिम बजार बनाइ सो बजारमा राम लक्ष्मणलाई घुमाउने छन् । सो दृश्यको माध्यमले त्रेता युगको झलक दिइने प्रयास गरिने जानकारी जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले दिनु भएको छ ।
दोस्रो दिन फुलवारी लीला, तेस्रो दिन धनुष यज्ञ, चौथो दिन तिलकोत्सव, पाँचौ दिन मटकोर, छैठो दिन स्वम्वर र विवाह तथा सातौ दिन रामकलेवा हुनेछ ।
उत्तराधिकारी महन्थ वैष्णवका अनुसार अयोध्याबाट आउने जन्तीको उपस्थितिमा धनुष यज्ञ हुनेछ । यसपाली पाँचसयको संख्यामा अयोध्याबाट जन्ती जनकपुरधाम आइरहेको छ । सो जन्ती रामकलेवापछि अयोध्या फर्किने कार्यक्रम रहेको छ ।
धनुषयज्ञ रंगभूमि मैदानमा हुनेछ । फुलवारी लीला रामजानकी विवाहमण्डपमा, तिलकोत्सव राम मन्दिरको प्रागंणमा, मटकोर गंगासागरमा, स्वयंवर रंगभूमि मैदानमा विवाह जानकी मन्दिरमा गरिने कार्यक्रम रहेको छ । रामकलेवा पनि जानकी मन्दिरमा गरिने जानकारी उत्तराधिकारी महन्थले दिएका छन् ।
विवाह वैदिक परम्परा अनुसार गरिनेछ । विवाहको लागि जानकी मन्दिरमा वेदी निर्माण भइरहेको छ । विवाहपञ्चमी नेपाल भारतका लाखो व्यक्ति सहभागि हुनेछन् । तेस्रो देशबाट पनि निकै संख्यामा श्रद्धालु भक्तजन आउने कार्यक्रम रहेको छ ।
