

जनकपुरधाम ।
जनकपुर बोल्ट्सले घरेलु मैदानमा शनिबार विराटनगर किङग्सविरुद्ध खेल्दै नेपाल प्रिमियर लिग (एनपीएल)को सुरुवात गर्दै छ ।
एनपीएलमा सन्तुलित देखिएको जनकपुर उपाधि जित्ने लक्ष्यमा मैदान उत्रिने तयारीमा छ ।
जनकपुरले उद्घाटन खेलमा शनिबार विराटनगरसँग खेल्दै लिगको सुरुवात गर्नेछ । सो खेल दिउँसो सवा १२ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ ।
एनपीएलको सुरुवातमा नै उपाधिमाथि दाबी गरेको जनकपुरले राष्ट्रिय टोलीका ओपनर तथा विकेटकिपर आसिफ शेखलाई मार्की खेलाडी बनाएको छ । आसिफले सन् २०२१ मा राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए ।
लिगअघि आसिफले विदेशी खेलाडी र नेपालका युवा खेलाडीको कारण टोली सन्तुलित रहेको बताएका छन् । टोलीमा पछिल्लो समयका उत्कृष्ट खेलाडी रहेकाले उपाधि जित्ने शेखले दाबी गरे ।
जनकपुरले विदेशी खेलाडीका रुपमा बिहीबार मात्रै क्यानडाका हर्ष ठाकरलाई टोलीमा भित्रयाएको छ । जनकपुरले यसअघि न्युजिल्यान्डका जिमी निशम, अमेरिकाका जोशुवा ट्रम्प, अमेरिकाका मोहम्मद मोहसिन, लाहिरु मिलन्था र इङल्याण्डका अलराउन्डर बेन माइकलाई अनुबन्ध गरेको छ ।
न्युजिल्यान्डका निशम विश्व क्रिकेटमा परिचित अनुहार हुन् । उनले न्युजिल्याण्डका लागि टेस्टदेखि टी–ट्वान्टी खेलको रामूो अनुभव बटुलेका छन् । बायाँहाते ब्याटर निशमसँग आइपीएल, बीबीएल र द हन्ड्रेडलगायत फ्रेन्चाइज लिगहरू खेलको अनुभव छ । जुन अनुभव आउने एनपीएलमा देख्न पाइनेछ । यस्तै दायाँहाते ब्याटर ट्रोम्पले अमेरिकी हौस्टन प्रिमियर लिग टी ट्वान्टी, सेन्ट्रल टेक्सास लिग टी–ट्वान्टीलगायतका लिग खेलिसकेका छन् ।
श्रीलङ्कामा जन्मिएर अमेरिकाबाट क्रिकेट खेल्दै आएका मिलान्था विकेटकिपर तथा ब्याटर हुन् । अमेरिकी घरेलु लिगको राम्रो अनुभव बटुलेका उनीसँग नेपाली मैदानको अनुभव समेत छ ।
जनकपुरले यसअघि टोलीमा अनुबन्ध गरेका पाकिस्तानी खेलाडी शोएब मक्सदु भने फिटनेसमा समस्या आएपछि एनपीएलबाट बाहिरिएका छन् । उनी बाहिरिएसँगै जनकपुरले इङल्यान्डका अलराउन्डर बेन माइकलाई अनुबन्ध गरेको थियो ।
जनकपुरमा विदेशी खेलाडीसँगै नेपालका आसिफ शेख, अनिलकुमार शाह, ललितनारायण राजवंशी, रुपेश सिंह, अरनिको यादव, शुभ कसांकार, तुल बहादुर थापा, किशोर महतो, शेर मल्ल, हेमन्त धामी, आकाश त्रिपाठी टोलीमा छन् ।
जनकपुरका हेड अफ अपरेशन निरोज खतिवडाले आफनो टोलीको तयारी राम्रो रहेकाले प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्दै प्रतियोगिताको उपाधि जित्नेमा विश्वस्त रहेको बताए । सन्तुलित टोलीकै कारण लिगमा अनुकूल नतिजा आउने विश्वासमा खतिवडा छन् ।
जनकपुरलाई नेपाली राष्ट्रिय टोली कै पुर्व प्रशिक्षक पुबुदु दासानायकेले प्रशिक्षण दिइरहेका छन् । नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्याउन मद्दत गरेका दासानायकेले जनकपुरलाई पनि उपाधि दिलाउने लक्ष्य दिएएका छन् ।
दासानायकेकै प्रशिक्षणमा नेपालले सन् २०१४ मा विश्वकपको यात्रा तय गरेको थियो । सन् २०११ देखि २०१५ सम्म नेपाली टोली सम्हालेका दासानायकेले क्यानडाको क्रिकेटलाई पनि नयाँ उचाइमा पुर्याउन भूमिका खेलेका छन् ।
अनुभवी र खेलाडीको क्षमता अनुसार परिचालित गर्नसक्ने दासानायकेको प्रशिक्षणमा जनकपुरले उपाधि जित्ने लक्ष्य राखेको छ ।
