

सुजीतकुमार झा
जनकपुरधाम ।
अहिले मौसम बदली भई हल्का चिसो महसुस हुन थालेको छ । आगामी सातादेखि चिसो थप बढ्न सक्छ । यस्तो अवस्थामा सबैले आफ्नो स्वास्थ्यको बढी ख्याल गर्नुपर्ने जानकार चिकित्सकहरु बताउँछन् ।
जाडो यामको अर्को मुख्य समस्या भनेको रुघाखोकी हो । जाडोयाम सुरु हुनासाथ मौसममा आउने परिवर्तनका कारण रुघाखोकीको समस्या देखिन थाल्छ । सिजनल भाइरसका कारण जाडो मौसममा रुघाखोकीका बिरामी अत्याधिक बढ्ने गरेको काव्य अस्पताल जनकपुरधामका प्रमुख एवं वरिष्ठ चिकित्सक डा. एसके सिंहले बताउनुभयो ।
जाडो बढ्नु भन्दा पूर्व बढी व्यक्तिलाई जाडोले प्रभावित गर्ने गरेको प्रादेसिक अस्पताल जनकपुरधामका वरिष्ठ चिकित्सक डा. दिग्बिजय ठाकुरले बताउनु भयो । काव्य अस्पतालका प्रमुख डा. सिंहका अनुसार आफू कहाँ आउने रोगी मध्ये ४० प्रतिशत जति जाडोले प्रभावित रोगीहरु रहेको छ । दमा, श्वासप्रश्वास, फिवरका रोगी बढी देखिएका छन् ।

जाडोमा इन्फ्लुएन्जाका कीटाणु र भाइरसहरु बढी सक्रिय हुन्छन् । जसका कारण मानिसमा रुघाखोकी लाग्ने गर्छ । यस्तो संक्रमण एकबाट अर्कोमा सर्ने भएकाले पनि थुप्रै मानिसलाई प्रभाव पार्ने गर्छ । यो भाइरस कुनै संक्रमित व्यक्तिले खोक्दा, हाछ्युँ गर्दा, बोल्दा, मुखबाट निस्किने पानीका कणहरू मार्फत हावाका माध्यमबाट अर्को व्यक्तिमा सर्ने गर्छ । त्यसैले रुघाखोकी लागेको मानिससँग दुरी कायम गर्नुपर्छ । ‘उनीहरूले प्रयोग गरेको सामान सकेसम्म प्रयोग गर्नु हुदैन । यसले खासगरी बच्चा तथा बुढाबुढीलाई आक्रमण गर्छ,’ डा. सिंहले बताउनुभयो ।
चिसो मौसममा विरामी तथा ज्येष्ठ नागरिकहरुलाई हृदयाघात हुने सम्भावना बढी हुने मुटु रोग विशेषज्ञहरुको भनाइ छ । चिकित्सकहरुका अनुसार गर्मी महिनाको तुलनामा जाडो महिनामा मानिसहरुमा मुटु रोगसम्बन्धी जोखिम बढी रहन्छ ।
रक्तचाप परिवर्तन भैरह्ने समस्या पनि जाडो मौसममा बढी हुने चिकित्सकहरुको भनाइ छ । रक्तचापमा परिवर्तन भन्नाले कहिले धेरै कहिले कम हुने समस्या गर्मीको तुलनामा जाडो मौसममा बढी हुन्छ ।
जाडोमा चिसोले रक्त नली र शरीरमा पार्ने प्रभावका कारण यस्तो समस्या देखिने चिकित्सकहरुको भनाई छ । त्यस्तै, चिसोका कारण शरीरमा उत्पन्न हुने रसायन अथवा हार्मोनहरूका कारण पनि मुटुको चाल अथवा धड्कन बढाउन मद्दत गर्छन् । मुटु भित्रका नलीमा रक्त सञ्चार अवरुद्ध गर्ने र रगत जम्ने सम्भावना पनि उत्तिकै हुन्छ ।
मुटु रोगीहरुले बिहान अति चिसोमा गरिने हिँडडुल कम अथवा बन्दै गर्नु पर्ने काठमाडौका वरिष्ठ मुटुरोग विशेषज्ञ डा.ओममूर्ति अनिलको सुझाव छ । हिँड्नै परेको खण्डमा न्यानो कपडा लाएर मात्रै बाहिर हिड्न सकिन्छ । यद्यपि, हावा चलेको बेला तथा पानी परेको बेला जोखिम अझै बढ्ने भएकाले त्यस्तो बेला बाहिर ननिस्कनु नै राम्रो हुने डा.अनिलको भनाइ छ ।
स्वस्थ मुटुका लागि खानपिनमा समेत विशेष ध्यान दिनु पर्छ । विशेषगरी जाडो छल्न भन्दै चुरोट तथा मदिरापानको बढ्दो प्रयोगले मानिसहरूमा मुटुको जोखिम बढ्छ । कतिपय अवस्थामा चुरोट र मदिरापान सेवनका बेलामा नै हृदयघात भएर मृत्युसमेत हुने सम्भावना हुन्छ ।
‘अन्न, मासु, माछा, गेडागुडी, फलफूल, जडीबुटी, मसला, ताजा फलफूल र सागसब्जीयुक्त सन्तुलित आहार सेवन गर्दा रोग प्रतिरोधात्मक क्षमता बढ्छ । हामीले भिटामिन सी युक्त खानेकुरा पनि बढी सेवन गर्न सक्छौँ किनभने यसले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ,’ डा. ठाकुरले बताउनुभयो ।
जाडोमा आफूलाई फिट राख्न शारीरिक क्रियाकलाप गर्नुहोस् । तपाईं योग, दौड, हिँड्ने वा शक्ति प्रशिक्षण गरेर आफ्नो शरीरलाई न्यानो राख्न सक्नुहुन्छ । यसबाट रुघाखोकी वा रुघाखोकीजस्ता मौसमी रोगहरूबाट बच्न प्रतिरोधात्मक क्षमता बलियो रह्नेछ । जनकपुरधामका चर्चित योगगुरु एवं आयुर्वेद विशेषज्ञ मनोहर साहले सूर्य नमस्कार, दण्डबैसकी सूर्य भेदी प्राणायाम, भस्त्रीका प्राणायाम र
उज्जयायी प्राणायाम कार्यलाई निरन्तरता दिन सल्लाह दिनुहुन्छ ।
योगले स्टेमिना बढने गरेकाले कुनै बिरामीसँग लड्ने प्रतिराधोत्मक बढी भएकाले यसलाई सबैले दिनचर्यामा सामिल गर्नुपर्छ उहाँको कथन रहेको छ ।
हरेक दिन आवश्यक मात्रामा पानी पिउनुहोस् र हाइड्रेटेड रहनुहोस् । पानीले हाम्रो प्रणालीलाई सफा गर्न र विषाक्त पदार्थहरू हटाउन, शरीरका कोषहरूमा पोषक तत्वहरू ढुवानी गर्न र शरीरको तरल पदार्थलाई सन्तुलनमा राख्न मद्दत गर्छ । काव्यका प्रमुख डा. सिंह भन्नुहुन्छ सबैले मनतातो पानी अनिवार्य खानुपर्छ साथै धुलोगर्दाबाट बच्नुपर्छ । धुलो गर्दा र अगेना(घूर)को कारण स्वासप्रश्वासको समस्या हुने गरेको छ ।
आफ्नो अण्डाकार कक्षमा पृथ्वी सूर्यबाट टाढिँदै जाँदा मौसम परिवर्तन भइ हिउँद लाग्छ । यसैबेला जाडोका रोगहरु हामीलाई लाग्ने गर्छन् ।
