

एजेन्सी ।
प्रियंका गान्धीले बिहीबार लोकसभा सदस्यको शपथ लिएकी छन् । भारतीय सञ्चारमाध्यमका अनुसार बिहान करिब ११ बजे सदन पुगेकी गान्धीले हातमा संविधानको रातो रङको प्रतिलिपि लिएर सांसदको शपथ लिएकी हुन् ।
हालै भएको लोकसभा उपचुनावमा उनी केरलाको वायनाड सिटमा विजयी भएकी हुन् । प्रियंका गान्धीले पहिलोपटक चुनाव लडेकी थिइन् । भारतीय कंग्रेसका पूर्वअध्यक्ष राहुल गान्धी यस वर्ष भएको लोकसभा चुनावमा रायबरेली र वायनाड दुवै ठाउँमा विजयी भएका थिए । त्यसपछि उनले एउटा सिट वायनाड छाडेका थिए । त्यसैमा प्रियंका उपचुनाव लडेकी हुन् ।
यस्तै आज महाराष्ट्रबाट विजयी रवीन्द्र वसन्तराव चौहानले पनि लोकसभा सदस्यको शपथ खाएका छन् । उनले मराठी भाषामा शपथ खाएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
कंग्रेसको टिकटमा नान्देडबाट चुनाव जितेर चौहान संसद्मा पुगेका हुन् । यो सिट वसन्तराव बलवंतराव चौहानको निधनपछि खाली भएको थियो ।
