

जनकपुरधाम ।
जनकपुधामको शैक्षिक समस्याको समाधान खोज्नकालागि जनकपुरधाम उद्योग वाणिज्य संघको अगुवाईमा सर्वपक्षिय बैठक हुन लागेको छ । जनकपुरधामका निजि विद्यालयका संगठनहरुको आन्दोलन तथा नेपाल विद्यार्थी(नेवि) संघको आन्दोलनका कारण शैक्षिक संस्थाहरू बन्द रहेको अवस्थामा सोको हल निकाल्नकालागि जनकपुरधाम उद्योग वाणिज्य संघले सबै पक्षलाई डाकेर साझा संवादको माध्यमले समस्याको हल गर्न अपिल गरेको हो । सर्वपक्षिय छलफल अपरान्ह ३बजे डाकिएको छ ।
जनकपुरधाम उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष मनोजकुमार साहले सम्बन्धित सबै पक्षको कुरा सुनेपछि समस्या निराकरणका लागि एउटा साझा संवादको खाँचो देखिएको बताए ।
यता जनकपुरधामका निजी विद्यालयका संगठनहरुले विद्यालय बन्द राखेर आफ्नो आन्दोलनलाई निरन्तरता दिएका छन् । उपमहानगरले छात्रवृति सम्बन्धि समस्या समाधान गर्न तर्फ गम्भिरता देखाउन नसकेको आरोप लगाउँदै आन्दोलनमा उतरिएको निजि विद्यालयका संगठनहरुले विद्यालय बन्द जारी राखेका हुन् । निजि विद्यालयहरु तथा नेपाल विद्यार्थी(नेवि) संघको आन्दोलनका कारण सोमबार पनि जनकपुरधामका निजि विद्यालयहरु संचालनमा आउन सकेका छैनन् ।

