

एजेन्सी ।
टेस्लाका सीईओ एलन मस्क विश्वकै मात्र होइन, मानव इतिहासकै सबैभन्दा धनी व्यक्ति बनेका छन् ।
विश्वप्रसिद्ध अमेरिकी पत्रिका फोर्ब्सका अनुसार ३ खर्ब ३४ अर्ब ३० करोड डलर सम्पत्ति जोडेर उनी संसारमा अहिलेसम्मकै सबैभन्दा धनी व्यक्ति बन्न सफल भएका हुन् । अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित हुनासाथ मस्कको विद्युतीय कार कम्पनी टेस्लालगायतको सेयर मूल्य ह्वात्तै बढेको थियो ।
मस्कको कूल सम्पत्तिमध्ये अधिकांश हिस्सा उनको १३ प्रतिशत सेयर रहेको टेस्ला कम्पनीबाट प्राप्त भएको हो । यही नोभेम्बर ५ मा भएको राष्ट्रपति चुनावका लागि मस्कले ट्रम्पलाई प्रचारप्रसार तथा आर्थिक सहयोगसमेत गरेका थिए ।
त्यसो त राष्ट्रपतिमा आफू विजयी हुनासाथ ट्रम्पले टेस्ला, एक्स र स्पेसएक्सका मालिक मस्कलाई अमेरिकाको सरकारी दक्षता विभाग (डीओजीई) को प्रमुखमा नियुक्त पनि गरिसकेका छन् । अमेरिकी राष्ट्रपतिमा ट्रम्पको विजयले मस्क र उनका कम्पनीमा लगानीकर्ताहरूको विश्वासलाई बलियो बनाएको छ ।
