

एजेन्सी ।
इन्डियन प्रिमियर लिग (आईपीएल)को मेगा अक्सन आइतबार र सोमबार साउदी अरेबियाको जेदाहमा आयोजना हुँदैछ । सो प्रतियोगिताका लागि अक्सनमा सबै भन्दा धेरै रकममा को बिक्री हुने भन्ने चासो धेरैमा छ । गत वर्ष कलकत्ता नाइट राइडर्सले मिचेल स्टार्कका लागि २४.७५ करोड भारतीय रुपैयाँ खर्चिएको थियो । सोही रकम आईपीएल इतिहासको सबै भन्दा महँगो रकमको रूपमा कीर्तिमान कायम भएको थियो । यसै वर्ष अक्सनमा पनि नगएर रिटेन गर्ने क्रममा सनराइजर्स हैदरावादले हेन्रिक कालसनलाई तिरेको २३ करोड भारतीय रुपैयाँ पार गर्छ या गर्दैन भन्ने बहस महत्त्वपूर्ण बनेको छ ।
अहिले चर्चामा दिल्लीबाट गत सिजन खेलेका ऋषभ पन्त छन् । उनले मूल्यमा कुरा नमिलेपछि अक्सनमा जाने निर्णय गरेका हुन् । उनका लागि फ्रेन्चाइजले २० करोड भारतीय रुपैयाँ खर्चिने अनुमान गरिएको छ । सन् २०१६ देखि यता उनले ८ पटक म्यान अफ द म्याच अवार्ड पाएका छन् । तर अहिले धेरै टोलीले आफ्नो पूर्व कप्तानलाई बिदा गरेका छन् । पन्त ब्याट्सम्यान, कप्तान तथा विकेटकिपरको भूमिकामा रहन सक्छन् । भारतीय समर्थकमा पन्तको विशेष क्रेज छन्। तसर्थ पनि धेरै टोलीको आकर्षण पन्तमा हुनसक्छ ।
कलकत्ताले गत सिजन अवार्ड जित्ने समयमा टोलीको नेतृत्व गरेको श्रेयास ऐयर नै अहिले सो टोलीबाट रिटेन भएनन् । कलकत्ताले ६ जना खेलाडी रिटेन गरिसकेका कारण उनी आरटिएम हुने सम्भावना पनि छैन । अहिले जुनसुकै टोली उनका लागि आतुर हुनसक्छन् ।
सन् २०२२ मा आइपिएलमा आएका उनी त्यस समयमा ४ क्लबले प्रस्तावका बाबजुद कलकत्ता पुगेका हुन् । यसरी ऐयरमा रुचि देखाउनेमा रोयल च्यालेन्जर बंग्लोरु, दिल्ली, लखनउ तथा गुजरातले चासो दिएका थिए ।
सन् २०२३ मा लामो समय चोटका कारण गुमाएका उनले अर्को वर्ष टोलीको नेतृत्व गर्दै उपाधि दिलाएका हुन् । श्रेयसलाई नै कप्तान बनाउन टोलीमा लैजाने सबैभन्दा बलियो सम्भावना पन्जाब किंग्सको छ । पन्जाबसँग ११०.५ करोड भारतीय रुपैयाँ बाँकी नै छ । दिल्ली र लखनउमा पनि उनी उपयुक्त नहुने त होइन तर दिल्लीसँग अब ५५ करोड रुपैयाँ तथा लखनउसँग ६९ करोड रुपैयाँ मात्र बाँकी छ । उनी मध्यक्रमका भरपर्दा ब्याट्सम्यान हुन् ।
गत वर्षका महँगा खेलाडी स्टार्कलाई त बिर्सने कुरै भएन । गत सिजनको अक्सनमा हैदरावादले प्याट कुमिन्सका लागि २०.५० करोड भारतीय रुपैयाँ खर्चेर सो सिजनको महँगो खेलाडीको कीर्तिमान राखेको थियो । केही समयमा नै कुमिन्सको पुरानो क्लब कलकत्ताले त्यसलाई भङ्ग गर्दै २४.७५ भारतीय रुपैयाँको नयाँ आइपिएल कीर्तिमान राखेको थियो । त्यसदिन कलकत्ताले खर्चिन तयार भएको ३२.७ करोड भारतीय रुपैयाँको ८० प्रतिशत रकम स्टार्कले पाएका थिए । लिग चरणको सुरुवातमा कमजोर देखिएका स्टार्क सनराइजर्स हैदरावादविरुद्धको पहिलो क्वालिफायर र फाइनलमा जमे। दुवै खेलमा उनी म्यान अफ द म्याच घोषित भएका थिए । उनले फर्ममा रहेका ट्रेभिस हेड र अभिषेक शर्मालाई नै आउट गरेका थिए । स्टार्क पावर प्ले र डेथ ओभरमा नै भरपर्दा बलर मानिन्छन् । अनुभवी उनलाई बलिङ मेन्टरको रूपमा समेत टोलीले प्रयोग गर्न सक्नेछ ।
आईपीएलका अर्का स्टार लोकेश राहुल पनि अक्सनमा गएका छन् । सन् २०१८ यताका ७ मध्ये ६ सिजनमा राहुलले ६ पटक पाँच सय रन भन्दा धेरै प्रहार गरेका छन् । उनले पाँच सय रनको आँकडा पार गर्न नसकेको एउटा मात्र आइपिएल २०२३ हो । सो सिजन उनले चोटका कारण पछिल्ला आधा खेल गुमाएका थिए ।
राहुलबाहेक कोहली र डेभिड वार्नरले मात्र ७ सिजनमा पाँच सय रनको आँकडा पार गरेका छन् । राहुल सन् २०१३ मा आइपिएल क्यारियर सुरु गरेको बंग्लोरुमा नै जाने सम्भावना प्रबल छ । यसअघि दिनेश कार्तिक सो टोलीका विकेटकिपर ब्याट्सम्यान थिए । अहिले कप्तान तथा विकेट किपर ब्याट्सम्यानको रूपमा राहुल उपयुक्त विकल्प हुन सक्छन् । साथमा अन्य धेरै क्लबमा पनि शीर्ष क्लबका ब्याट्सम्यान तथा विकेटकिपर आवश्यक भएको हुँदा राहुलको सम्भावना प्रबल भएको पाइन्छ ।
सन् २०२२ को आइपिएल सिजन यता जोस बटलरले चौथो धेरै रन प्रहार गरेका छन् । उनको स्ट्राइक रेट पनि करिब १४५ छ । यस अवधिमा उनले सबै भन्दा धेरै ७१ छक्का प्रहार गरेका छन् । उत्कृष्ट ब्याटिङमार्फत विपक्षीलाई दबाब दिने गरेका उनी भर्खरै वेस्ट इन्डिजसँग भएको टी–२० मा पनि अविजित ८३ रन प्रहार गर्न सफल भएका थिए । टी–२० विश्वकप विजयी टोलीका कप्तान समेत रहेका उनी टोलीको नेतृत्व गर्न समेत उपयुक्त मानिन्छन् ।
अहिले चासो आर्सदिप सिंहमाथि पनि छ । सन् २०२२ को आइपिएल यता भुवनेश्वर कुमारले ६४, टी नटराजनले ६१ तथा सिंहले ५० योर्कर बल फ्याकेका छन् । डेथ ओभरमा योर्कर महत्त्वपूर्ण मानिन्छन्। योर्करमा उनले इकोनोमी ५.७६ छ । यो भारतका स्टार बलर जसप्रित बुमराह भन्दा अलि बढी हो । यसबीचको डेथ ओभरमा उनले २८ विकेट लिएका छन् । उनी भन्दा बढी हर्सल पटेलले मात्र ५० विकेट लिएका छन् । उनले पावर प्लेमा २४ विकेट लिएका छन् । सन् २०२२ को आइपिएल यता यो चौथो धेरै सङ्ख्या हो । पावर प्ले र डेथ ओभरमा नै बलिङ गर्नसक्ने खुबीका कारण उनलाई खेल जिताउन सक्ने खेलाडीको रूपमा हेरिएको छ । भर्खर भारतलाई दक्षिण अफ्रिकाविरुद्धको शृङ्खला जिताउन पनि उनको भूमिका महत्त्वपूर्ण थियो ।
अहिले इङ्गल्यान्डका लियाम लिभिङस्टोन पनि खाली छन् । पारीको दोस्रो हाफमा शक्तिशाली प्रहार गर्ने उनले तीन सिजनका २१ पारीमा ५७५ रन प्रहार गरे । उनको स्ट्राइक रेट १९१.६६ हो। यो भारतका स्टार ब्याट्सम्यान सूर्यकुमार यादवको भन्दा मात्र कम हो । यादवले सोही अवधिमा २६ पारीमा १९३.८५ को स्ट्राइक रेटमा ७८९ रन प्रहार गरेका छन् ।
हेन्रिक क्लासेनले २४ पारीमा १८२.४० को स्ट्राइक रेटमा ७५७ रन प्रहार गरेका छन् । उनी एकै ओभरमा ह्रिुसट स्पिनबाट स्विच गराएर फिङ्गर स्पिन बलिङ गर्न सक्षम छन् । २०२२ को मेगा अक्सनमा यसै खुबीका कारण उनलाई ११.५ करोड खर्च गरिएको थियो । यसपटक पन्जाबसँग उनका लागि आरटीएम विकल्प पनि खुला छ ।
