

जनकपुरधाम ।
निजि विद्यालयका प्रतिनिधि र जनकपुरधाम उपमहानगरपालिका बीचको वार्ता बैठक आज पनि विना निष्कर्ष सम्पन्न भएको छ । अपरान्ह ३ बजेदेखि ३ घण्टा सम्म चलेको सो बैठकमा मेयर मनोज साह र निजि विद्यालयका संगठनहरुले आ आफना अडानमा देखिएपछि आजको बैठक कुनै टुंगो नलागेका सहभागिहरुले बताएका छन् ।
हाम्रो मांगलाई नजरअन्दाज गरेसम्म वार्ता सफल हुन नसक्ने एनप्याब्सन जनकपुरधामका नगरअध्यक्ष दीपक ठाकुरले बताएका छन् ।
बैठकमा जनकपुरधाम उपमहानगरपालिका नगरप्रमुख मनोज साह, उपप्रमुख किशोरी साह, धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी, उपमहानगरका अधिकारीहरु, जिल्ला प्रहरी कार्यालयको प्रतिनिधि, शिक्षा समन्वय ईकाईका प्रमुख, हिसान, प्याब्सन, एनप्याब्सन, मधेस प्याब्सनका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
निजि विद्यालयहरुसंग समन्वय नै नगरी कक्षा ११ र कक्षा १२का विद्यार्थीहरुको छात्रवृति सम्बन्धि सम्झौता गरेपछि निजि विद्यालयका संगठनहरु आन्दोलित भएका थिए भने नेविसंघ समेत सो सम्झौता कार्यान्वयनको माग गर्दै सडकमा उत्रेका छन् । निजि विद्यालय तथा विद्यार्थीहरुको आन्दोलनका कारण केही दिनदेखि विद्यालय बन्द रहेको छ ।
