

जनकपुरधाम ।
नेपाली कांग्रेसका नेता एवं पूर्व गृहमन्त्री विमलेन्द्र निधि बीआरआईको विषयमा तत्काल हस्ताक्षर गर्नु नेपालको हितमा नरहेको बताएका छन् । जनकपुरधाममा संचारकर्मीहरुसंग कुराकानी गर्दै निधिले बीआरआईको विषयमा व्यापक छलफल नभएसम्म त्यो सम्झौता गर्न नहुने पक्षमा नेपाली कांग्रेस रहेको बताए ।
प्रधानमन्त्री केपी शर्मा ओली चिन भ्रमणको तयारीमा रहेको र उनलाई कुनै पनि ऋण सम्झौतामा हस्ताक्षर नगर्न नेपाली कांग्रेसले भनिसकेको निधिले जानकारी दिए । उनले भने ‘प्रधानमन्त्री ओली चिन भ्रमणको तयारीमा हुनु हुन्छ, कांग्रेसले अनुदान सम्झौता मात्रै भनेको छ, ऋण सम्झौता नगर्न पहिले नै भनिसकेका छौँ ।’
यता बीआरआईको विषयलाई लिएर सरकारको भविष्य संकटमा रहेको विषय निराधार रहेको उनले बताए । निधिले २ वर्षसम्मलाई ओलीजी प्रधानमन्त्री हुनुहुन्छ २ वर्षपछि कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुने विषयमा दूबै नेताबिच सहमति भएकाले सरकारको भविष्यलाई लिएर शंका उपशंका नगर्न आग्रह गरे ।
