

जनकपुरधाम ।
अज्ञात व्यक्तिहरुको समूहले महोत्तरीको पिपरास्थित शिव चोकको शिव मन्दिरमा रहेको शिव लिंगमा तोडफोड गरेको छ । ४ वर्ष अगाडी मात्रै निर्माण गरिएको नयाँ शिव मन्दिरमा रहेको शिव लिंगमा अज्ञात व्यक्तिहरुले बुधबार अपरान्ह मन्दिर भित्र प्रवेश गरेर तोडफोड गरेका थिए । जनकपुरधाम–भिठामोड सडकखण्ड विस्तार हुने भएपछि मात्रै पुरानो मन्दिरलाई भत्काएर ४ वर्ष अगाडी मात्रै नयाँ मन्दिर निर्माण गरेर नयाँ शिवलिंगको प्राण प्रतिष्ठा गरिएको थियो ।
स्थानीयका अनुसार बुधबार अपरान्ह ४/५ जनाको युवकहरु समूह आएका थिए, केही युवक बाहिरै बसे भने केही युवक मन्दिर भित्र प्रवेश गरेर शिवलिंगमा तोडफोड गरेका थिए ।
मन्दिरको शिवलिंगमा तोडफोड गरिएको र तोडफोड गर्नेलाई प्रहरीले अहिलेसम्म पक्राउ गर्न नसकेको भन्दै स्थानीय जनकपुरधाम जलेश्वर सडकखण्डमा टायर बालेर प्रदर्शन समेत गरेका छन् ।
यता जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायव उपरीक्षक सन्तुलाल जयसवारले शिवलिंगमा तोडफोड गर्नेहरुको खोजी भईरहेको तथा घटना सम्बन्धमा छानविन चलिरहेको जानकारी दिए ।

