

काठमाडौं ।
अमेरिकी न्याय विभाग र केही राज्यहरूले बुधबार राति एक संघीय अदालतलाई गुगललाई आफ्नो लोकप्रिय वेब ब्राउजर क्रोम बेच्न बाध्य पार्नेगरी निर्णय गर्न आग्रह गरेका छन् । न्युयोर्क टाइम्सका अनुसार अगस्टमा अमेरिकी जिल्ला अदालतका न्यायाधीश अमित पी मेहताले गुगलले अनलाइन खोजमा एकाधिकार कायम गरेको ठहर गरेका थिए ।
न्यायाधीश मेहताले न्याय विभाग र मुद्दा दायर गर्ने राज्यहरूलाई खोजी गुगलको एकाधिकार सच्याउन बुधबारसम्म समाधान पेस गर्न भनेका थिए । यो कदमले २ ट्रिलियन डलरको कम्पनीको व्यवसायको आधारभूत स्वरूप नै बदलिन सक्छ भने इन्टरनेटमा हुने प्रतिस्पर्धा नयाँ अवस्थामा पुग्नेछ ।
सरकारले न्यायाधीश मेहतासँग क्रोम बेच्नुका साथै गुगललाई अरु के विकल्प दिन सकिन्छ भनेर सोधेको थियो । ती विकल्पमा कि त स्मार्टफोनको अपरेटिङ सिस्टम एन्ड्रोइड बेच्ने कि एन्ड्रोइड प्रयोग गर्ने फोनहरूमाथि आफ्नो सेवाहरू अनिवार्य बनाउनबाट गुगललाई रोक्ने रहेका छन् ।
यदि गुगलले यी सर्तहरू तोड्यो वा नयाँ बदलाव (सुधार) हरूले प्रतिस्पर्धा सुधार गर्न असफल भएमा सरकारले पछि कम्पनीलाई एन्ड्रोइड बेच्न बाध्य पार्न सक्छ । सरकारले न्यायाधीशलाई गुगललाई एप्पल र अन्य कम्पनीहरूसँग स्मार्टफोन र ब्राउजरहरूमा स्वचालित खोज इन्जिन राख्नका लागि गरिएका सशुल्क सम्झौताहरू रोक्न पनि आग्रह गरेको छ ।
योसँगै गुगललाई १० वर्षसम्म कम्पनीको खोज नतिजा डाटामा पहुँच पनि दिनुपर्नेछ जुन प्रतिस्पर्धीहरूलाई गुगलको उत्पादनको गुणस्तरसँग पछ्याउन मद्दत गर्नेछ ।
