

जनकपुरधामका निजि विद्यालयका संगठनहरुका साथै नेपाल विद्यार्थी (नेवि) संघ कक्षा ११ तथा १२को छात्रवृतिको विषयलाई लिएर आन्दोलनमा छन् । मंगलबार नेवि संघको अगुवाई विद्यार्थीहरुले प्लेकार्डसहित सडकमा टायर बालेर प्रदर्शन गरेका थिए । निजि विद्यालयका संगठनहरु समेत आन्दोलनमा रहेका कारण जनकपुरधामका निजि विद्यालयहरु तेस्रो दिन पनि बन्द छन् । यता निजि विद्यालयका संगठनहरुले जनकपुरधाम उपमहानगरपालिका र नेपाल विद्यार्थी(नेवि) संघबिच भएको सम्झौता बिरुद्ध शुरु गरेको आन्दोलनलाई निरन्तरता दिने निर्णय समेत गरिसकेको छ । छात्रवृतिको विषयलाई लिएर आन्दोलन गर्नुको कारण यसको समाधान लगायतको विषयमा मोडेलखबरका समाचार संयोजक जयन्त ठाकुरले नेपाल विद्यार्थी(नेवि) संघ धनुषाका अध्यक्ष सुजीत यादवसंग कुराकानी गरेका छन् ।
नेवि संघले कक्षा ११ तथा कक्षा १२को छात्रवृतिको विषयलाई लिएर किन आन्दोलन गरिरहेको छ ?
नेवि संघको केन्द्रिय कार्यक्रम अन्तर्गत ‘मेरो शिक्षा मेरो प्रश्न’ अभियान हामीले जनकपुरधाममा चलायौँ । सो अभियान अन्तर्गत जनकपुरधाम उपमहानगरपालिकाले छात्रवृति प्रदान गरिएका विद्यार्थीहरुसंग समेत मनोमानी शुल्क लिएको पायौँ । कसैसंग ४५ हजार, कसैसंग २५ हजार यसरी मनोमानी शुल्क लिएको पाएपछि बाध्य भएर आन्दोलन गर्नुपर्यो । पालिकाको आफ्नै कार्यविधि नरहेको समयमा संघिय शिक्षा ऐन अनुसार सुविधा दिनुपर्ने थियो । संघिय शिक्षा ऐनले छात्रवृति पाएका विद्यार्थीहरुलाई निःशुल्क शिक्षाको व्यवस्था गरेको छ ।
यहाँहरु निजि विद्यालयहरु बिरुद्ध आन्दोलन त शुरु गर्नुभयो तर उपमहानगरले आफ्नै कार्यविधि बनाउनु पर्छ भन्ने विषयमा किन दवाब बनाउनु भएन ?
हामीले दवाब बनायौँ त्च्यसपछि मात्रै उपमहानगरले हामीसंग सहमति गर्न तयार भयो । रह्यो कार्यविधिको कुरा त्यो स्थानीय सरकारको काम हो ।
उपमहानगरले त नेवि संघसंग सम्झौता गर्यो तर नियामक निकाय निजि विद्यालयका संगठनहरु समेत छन् तर उनीहरुसंग छलफलै नगरी गरिएका सम्झौता निजि विद्यालयहरु मान्न किन बाध्य हुन्छन् ?
स्थानीय सरकार, नगरप्रमुखले उहाँहरुसँग छलफल गर्यो गरेन त्यो हाम्रो सरोकारको विषय होइन । हामीले त नगरप्रमुख समक्ष प्रस्ताव नै राखेका थियौँ पछि समस्या नहोस त्यसैले हिसानका प्रतिनिधिहरुलाई पनि बोलाउनुस तर नगरप्रमुखले छलफल भएको भनेर हामीलाई सुनाउनु भयो । यसका साथै नगरप्रमुखले होइन निजि विद्यालयहरुले नियम विपरित शुल्क उठाईरहेको छ, हामी छात्रवृति पाएका विद्यार्थीहरुसँग शुल्क नलिन ठाडो आदेश दिन्छौँ भनेर सुनाउनु भयो ।
‘मेरो शिक्षा मेरो प्रश्न’ नेवि संघको यो केन्द्रिय कार्यक्रम थियो तर जनकपुरधाममै मात्रै किन यो अभियान चलाइयो भन्ने प्रश्न पनि खडा भईरहेको छ नि ?
‘मेरो शिक्षा मेरो प्रश्न’ सामाजिक सञ्जालमा पेज छ तपाई त्यो पेज भ्यु गर्न सक्नु हुन्छ । जनकपुरधाममा मात्रै नभई नेपालको विभिन्न स्थानमा यो अभियान चलाई सकिएको छ ।
निजि विद्यालयहरुले अन्य पालिकाहरुको पनि उदाहरण दिई रहेका छन् नि ?
हो सही हो । तर यहाँका निजि विद्यालयका संगठनहरुले यो पनि बुझि दिनु पर्यो कि ती पालिकाहरुले आफ्नो कार्यविधि बनाई सकेको छ ।
यहाँको विचारमा यो विवादको मूल कारण उपमहानगर हो ?
जबसम्म स्थानीय सरकारले कार्यविधि बनाएको छैन भने संघिय शिक्षा ऐनलाई टेकेर जानै पर्छ । सोही बमोजिम हाम्रो उपमहानगरसँग सहमति भएको छ । यसमा उपमहानगर र निजि विद्यालयहरु दूबै विवादको कारण हुन् ।
यो विवादको समाधान के हुन सक्छ ?
पीडित विद्यार्थी हो । नेवि संघले विद्यार्थीहरुको पक्षमा आवाज उठाई रहन्छ । हामीलाई उपमहानगरले वार्ताको लागि बोलाएको छ । वार्ताबाट समस्याको निकास निस्किन्छ भन्नेमा हामी विश्वस्त छौँ ।
