

काठमाडौँ ।
स्थानीय तहको उपनिर्वाचनमा भाग नलिएको लोकतान्त्रिक समाजवादी पार्टी नेपालले स्थानीय जनप्रतिनिधिको भेला बोलाएको छ ।
लोसपा नेपालले मंसिर ५ गते स्थानीय जनप्रतिनिधिहरूको भेला काठमाडौँमा बोलाएको छ । २०७९ को स्थानीय चुनावमा लोसपा नेपालबाट १६ जना पालिका प्रमुख, १२ जना उपप्रमुख, १०३ जना वडा अध्यक्ष, एक जना जिल्ला समन्वय समितिका सभापति र दुई जना उपसभापति निर्वाचित भएका थिए ।
स्थानीय तहमा भइरहेको कामको अनुभव, सेवा प्रवाह, शिक्षा, स्वास्थ्य, कृषि लगायतको क्षेत्रमा भएका काम तथा दलित, विपन्न वर्गका लागि अगाडी सारिएका योजनाबारे भेलामा छलफल हुने लोसपा नेपालका महासचिव डा.सुरेन्द्र झाले बताए ।
लोसपा नेपालले उपनिर्वाचनमा भाग नलिए पनि त्यसको बारेमा विचार विमर्श गर्ने बताउँदै झाले मंसिर १६ गते हुन गइरहेको स्थानीय तहको उपचुनावमा लोसपा नेपालको भूमिकाबारे पनि जनप्रतिनिधिहरूसँग छलफल गरेर एउटा निर्णय लिने जानकारी दिए ।
प्राविधिक कारणले लोसपा नेपालले उपनिर्वाचनमा भाग नलिएको उनको भनाइ छ । उनले भने, ‘लोसपा नेपालले उपनिर्वाचनमा भाग लिएको छैन तर पार्टीसँग रहेको आफ्नो मत कहाँ दिने भन्ने विषयमा पनि छलफल हुन्छ ।’
स्थानीय तहमा लोसपा नेपालको अवस्था के कस्तो छ, उपचुनावमा कुन पार्टीको अवस्था कस्तो छ भन्नेबारे स्थानीय जनप्रतिनिधिहरूलाई राम्रोसँग हुने भएकाले उनीहरूको राय बुझेरमात्र थप निर्णय लिने महासचिव झाले बताए ।
