Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

सत्ता र पदलोलुप्तामा फसेको मधेसकेन्द्रित दलः विभाजनको कहालीलाग्दो श्रृंखला

आफैले उठाएका मुद्दा विसर्जन गर्दै मधेसकेन्द्रित नेता





जनकपुरधाम ।
नेपाली राजनीतिमा दलहरु विभाजन हुनु कुनै नौलो कुरो होइन् । नेपालका प्रमुख दलहरु नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी विभाजन भएको इतिहास पनि छ । तर मधेशलाई केन्द्र बनाएर बनेका मधेशवादी दलहरुको विभाजन भने अन्य दलहरु भन्दा पृथक र रोचक छ । मधेश केन्द्रित राजनीतिका लागि बनेको पहिलो दल नेपाल सदभावना पार्टीको शुरु भएको विभाजन अहिले पनि जारी नै ।
गजेन्द्र नारायण सिंहले शुरु गरेको मधेश केन्द्रित दल समेत विभाजन भए तर डेढ दशकयता मधेशवादी दलको विभाजनको इतिहास कहालीलाग्दो छ ।
मधेस केन्द्रित पहिलो दल सदभावना पार्टीको विभाजन यात्रा
मधेशको मुद्दालाई लिएर औपचारिक रुपमै राजनीतिक दलको निर्माणको थालनी २०४७ सालमा भयो । जसको शुरुवात गजेन्द्र नारायण सिंहले गरेका थिए । गजेन्द्रनारायण सिंहले नेपाल सद्भावना परिषद् नामक सामाजिक संस्था शुरुमा खोलेका थिए । तर सामाजिक संस्था खोलेर मात्रै मधेशको अभिष्ट पूरा नहुने देखेर उनले २०४७ वैशाख ३ गते नेपाल सदभावना पाार्टी नामक राजनीतिक दलकै गठन गरे । तर राजनीतिक दल खोलेको केही वर्ष नबित्दै दल विभाजनको विजारोपण भयो । नेपाल सदभावना पार्टीमा गजेन्द्रनारायण सिंहका सहयात्री रहेका रामजनम तिवारीले ३ वर्ष नबित्दै आफ्नै नेतृत्वमा नेपाल सदभावना पार्टी (आर)को गठन गरे । तिवारीले गठन गरेको दल पनि २ वर्ष नबित्दै फूटको शिकार भयो । २०५२ सालमा रामेश्वर राय यादवले पार्टी भित्रै विद्रोह गरे । त्यसपछि जन्म भयो समाजवादी जनता दल नामक नयाँ  राजनीतिक दलको । यादवको अध्यक्षतामा गठित सो दलमा हृदयेश त्रिपाठी उपाध्यक्ष थिए भने राजेन्द्र महतो सो दलको प्रवक्ता बने ।
पार्टी टुक्राटुक्रामा विभाजित भएको २ वर्षपछि एकत्रित हुनु पर्छ भन्ने भावना तीनै दलका नेतृत्वलाई लाग्यो । त्यसपछि २०५४ सालमा विराटनगरमा एक अधिवेशनको आयोजना गरेर सदभावना पार्टीका विभिन्न घटकलाई एकठाउँमा ल्याइयो । पार्टीको नाम नेपाल सदभावना पार्टी नै राखियो ।
तर त्यो एकता क्षणिक मात्रै थियो । एकिकरण भएको ५ वर्ष भित्रै फेरी दल विभाजन भयो । २०५९ चैत ११ गते सप्तरीको राजविराजस्थित महाधिवेशनबाट गजेन्द्रनारायण सिंहकी पत्नी आनन्दीदेवी सिंहले नै पार्टी फुटाएकी थिइन् । यहाँ फूटको कारण थियो राजालाई समर्थन गर्ने कि लोकतान्त्रिक शक्तिहरुलाई । राजालाई समर्थन गर्ने गुट बद्री मण्डलसंग लागे भने बाँकी आनन्दी देवी संग । नेपाल सदभावना पार्टीको नेतृत्व बद्री मण्डलले पाए  र आनन्दी देवीले नेतृत्व गरेको दलको नाम नेपाल सदभावना पार्टी (आनन्दीदेवी) राखियो ।
बद्री मण्डल पार्टीमा निश्क्रिय भएपछि लक्ष्मण लाल कर्णले पार्टीको नेतृत्व गरे । २०६४ जेठ २५ गते कर्ण र आनन्दीदेवीबीच समेत पार्टी एकता भएर नेपाल सद्भावना पार्टी फेरी एक ठाउँमा आयो । एकीकृत भएको पार्टीको अध्यक्षता आनन्दीदेवीले गरिरहेकी थिइन् । त्यसको एक वर्ष नबित्दै पार्टी ३ टुक्रमा विभाजित हुन पुग्यो ।
२०६५ मंसिर २४ गते राजेन्द्र महतोले आफ्नै नेतृत्वमा सद्भावना पार्टी गठन गरे । श्यामसुन्दर गुप्ता, खुशीलाल मण्डल र सरिता गिरीले समेत अलग अलग समूह बनाएर पार्टी विभाजन गरे । तर तीनै जनाले पार्टीको नाम नेपाल सदभावना पार्टी (आनन्दीदेवी)नै राखे । पछि श्यामसुन्दर गुप्ता सांसद अपहरण काण्डमा जेलमा परे ।
यता राजेन्द्र महतोले नेतृत्व गरेको सद्भावना पार्टी पनि २ टुक्रामा विभाजित भयो । अनिलकुमार झा र सरिता गिरीले मिलेर संघीय सदभावना पार्टी गठन गरे भने रामनरेश रायले समेत अर्कै दलको गठन गरे । रामनरेश पछि महेन्द्र राय यादवले खोलेको तराई मधेश सद्भावना पार्टीमा लागेका थिए भने महतो र झाले नेतृत्व गरेको पार्टी पछि राष्ट्रिय जनता दलमा एकीकृत भएको थियो ।
बर्चस्वको लडाइले चिरा चिरामा विभक्त जसपा
देशमा १० वर्ष सशस्त्र जनयुद्ध गरेको नेकपा माओवादी शान्ति प्रकृयामा शामिल भई सकेको थियो । संघियताको आवाज देशमा खुबै जोडतोडले उठ्न थालेका थिए । तर कुनै दल संघियताप्रति उदार नरहेको कुरो अन्तरिम संविधानमा संघियता उल्लेख नरहेको देखेर प्रमाणित भयो । त्यसपछि उपेन्द्र यादवले संघियताको माग गर्दै मधेशी जनअधिकार फोरमको गठन गरे । फलस्वरुप मधेश जनविद्रोह भयो । मधेश आन्दोलनपछि राजनीतिक दलको रूपमा यो दल दर्ता भयो । २०६३ माघ १ गते जारी भएको अन्तरिम संविधानको विरोध गर्दै मधेशमा आन्दोलन गरेका यादवले सरकारसँग २२ बुँदे सम्झौता गरेपछि २०६४ वैशाखमा मधेशी जनअधिकार फोरमलाई दलको रुपमा दर्ता गराए ।
उनले दल दर्ता गरेर सरकारसँग सम्झौता गरेपछि यादवसँगै लागेका कयौँ आन्दोलनकारी क्रुद्ध भएर दल नै विभाजन गरे । २०६४ भदौमा भाग्यनाथ गुप्ता उपेन्द्रसंग अलग्गिएर मधेशी जनअधिकार फोरम (मधेश) नामक दल दर्ता गराए ।
यता कांग्रेसबाट बिद्रोह गरेर उपेन्द्र यादवको पार्टीमा लागेका विजयकुमार गच्छदार पनि फोरमबाट अलग भएर मधेशी जनअधिकार पार्टी नेपाल (लोकतान्त्रिक) दर्ता गराए । केही वर्ष अगाडी मात्रै गच्छेदारले आफ्नो पार्टीलाई नेपाली कांग्रेसमा विलय गराएका थिए । शरतसिंह भण्डारी, जयप्रकाश गुप्ता लगायतका नेताहरू गच्छदारसँगै थिए तर रक्षामन्त्री बनेका भण्डारीले दिएको विवादास्पद अभिव्यक्तिका कारण उनलाई मन्त्री पदबाट हटाइयो तर पार्टीले उनको बचाव गरेन । सोही विषयलाई लिएर पार्टीबाटै अलग्गिए ।
पार्टीबाट अलग्गिएर उनले आफ्नै नेतृत्वमा राष्ट्रिय मधेश समाजवादी पार्टी गठन गरे । गच्छदारसंगै रहेका जेपी गुप्ता समेत मधेशी जनअधिकार फोरम नेपाल (गणतान्त्रिक) नामक पार्टी दर्ता गराए । गुप्ता सञ्चारमन्त्री बनेकै बेला भ्रष्टाचार आरोपमा जेलमा परे । भ्रष्टाचारमा मुछिएपछि गुप्तालाई कारबाही गर्दै राजकिशोर यादवले सो पार्टीको कमान आफ्नो हातमा लिएका थिए ।
यति हुँदा हुँदै पनि मधेश केन्द्रित राजनीतिक दलहरुको उदय हुने क्रम रोकिएको थिएन । नेपाली कांग्रेस भित्र ठूलो विद्रोह हुन बाँकी नै थियो । यो विद्रोहको नेतृत्व भने महन्थ ठाकुरले गरेका थिए । नेपाली कांग्रेसको ठूलै नेताका रुपमा आफ्नो स्थान बनाउन सफल भएका ठाकुरले तराई मधेश लोकतान्त्रिक पार्टी नामक दलको गठन गरेका थिए ।
महन्थ ठाकुरको नेतृत्वमा रहेको तमलोपा पनि पछि विभाजित भएको थियो । महेन्द्र राय यादवले तराई मधेश सदभावना पार्टी (तमसपा) गठन गरेर तमलोपालाई विभाजन गरेका थिए । पछि राजपा गठन हुँदा साविकका ६ वटा पार्टीहरू एक ठाउँमा आएका थिए ।
उपेन्द्र यादवले नेकपा एमालेबाट अलग भएका अशोक राई, राजेन्द्र श्रेष्ठ सहितसँग एकता गरेर संघीय समाजवादी फोरम पार्टी गठन गरेका थिए । त्यसपछि एकीकृत नेकपा माओवादीबाट अलग भएर नयाँ शक्ति पार्टी गठन गरेका डा. बाबुराम भट्टराईसँग एकता गरेर समाजवादी पार्टी गठन गरिएको थियो । पछि आएर सपा र राजपाबीच एकता भएर जनता समाजवादी पार्टी (जसपा) नेपाल बनेको थियो । तर उपेन्द्र यादव र महन्थ ठाकुर बिच राजनीतिक सिद्धान्त नमिलेपछि फेरी यो दल आएर विभाजित भयो ।
जसपा विभाजन संगै महन्थ ठाकुरको नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी गठन गरियो । तर पार्टी भित्र आफूलाई महत्व नदिइएको भन्दै महन्थको विश्वास पात्र रहँदै आएका वृषेशचन्द्र तमलोपालाई ब्युँताएर नेतृत्व सम्हालेका छन् ।
जसपा नेपाल पनि केही महिना अगाडी विभाजित  भयो । अशोक राईले यादवको साथ छाडेर अहिले जसपा गठन गरेर आफै पार्टी चलाई रहेका छन्  ।
त्यस्तै लोसपा छोडेर राजेन्द्र महतोले समेत राष्ट्रिय मुक्ति क्रान्ति नेपाल नामक पार्टी गठन गरेका छन् । अहिले यो दल निर्वाचन आयोगमा दर्ता प्रकृयामा रहेको छ । यता आयोगले उनको दलको नामबाट क्रान्ति समेत हटाएको छ ।
पार्टी हथ्याउन विभाजनको खेल
मधेश केन्द्रित नेताहरु बिचको लडाइँ मुलतः सैद्धान्तिक नभएर बर्चस्वको लडाई रहेको विश्लेषण राजनीतिक विश्लेषकहरुको छ । फरक फरक जनाधार र फरक फरक विचारबाट एकठाउँमा आएका नेताहरु बिच एकअर्काको बर्चस्वतालाई नमान्ने परिपाटीकै कारण दल विभाजन हुँदै आएको कुनै समय नेपाल सदभावना पार्टीमा रहेर दलको नेतृत्व गरेका भरतविमल यादवको भनाई छ । उनले अहिले मधेशको राजनीति भन्दा पनि पद लोलुप्ता र कुर्सीको खेलमा कसरी सहभागी हुने यसकै लागि मधेशवादी दल पटक पटक विभाजित हुँदै आएको बताउँछन् ।
भरतविमल गजेन्द्रनारायण सिंह संगै रहेर राजनीति गरेका नेता हुन । केही वर्ष उपेन्द्र यादवको दलमा रहेर पनि राजनीति गरे । तर अहिले दलगत राजनीतिबाट उनी टाढिएका छन् ।
अर्का राजनीतिक विश्लेषक डा. सुरेन्द्र लाभलाई मधेस केन्द्रित दलको अहिलेको राजनीति देखेर उनलाई धेरै चित्त दुख्छ । उनी भन्छन् पहिले सिद्धान्तलाई लिएर पार्टी विभाजन हुन्थ्यो तर अहिले आफ्नो बर्चस्व कायम गर्न र कुर्सीको खेलमा सहभागी हुनका लागि नेताहरु दल फुटाउँछन् ।
मधेसकेन्द्रित दलमा सत्ता देखेपछि आफैले उठाएका मुद्दालाई विसर्जन नगर्ने परिपाटी रहेको आरोप विश्लेषकहरुको छ । त्यसैले अहिले आएर कुनै पनि मधेसकेन्द्रित दलहरुले पार्टीको नामबाटै मधेस शब्द हटाई सकेका छन् ।
लाभका अनुसार मधेश अहिले नेतृत्व विहिन छ । मधेशको मुद्दालाई लिएर राजनीति गर्नेहरु मधेशको मुखौटा मात्रै लगाएको आरोप लगाउँदै उनले मधेश अहिले सच्चा नेतृत्वको खोजीमा रहेको बताए ।