

सोल ।
कोरियाली शब्द ‘गोडोक्सा’ को अर्थ हो, ‘एक्लो मृत्यु’ । पछिल्लो समय दक्षिण कोरियामा गोडोक्सा एक देशव्यापी समस्या बनेको छ । हरेक वर्ष आफ्नो घरपरिवार, आफन्त र साथीहरूबाट अलग भएका हजारौं दक्षिण कोरियालीहरू एक्लै मर्ने गरेका छन् । कतिपय अवस्थामा त मृतकहरूको शव फेला पार्न पनि केही सातासम्म लाग्ने गरेको छ ।

एक्लोपनको समस्या समाधान गर्न सरकारका लागि पनि निकै चुनौतीपूर्ण बन्दै गएको छ । समस्या समाधानका लागि गत साता राजधानी सोलका अधिकारीहरूले ‘कोही पनि एक्लो नहुने सहर बनाउन’ आगामी पाँच वर्षका लागि ४५१.३ अर्ब वन (३२ करोड ७० लाख अमेरिकी डलर) खर्च गर्ने जनाएका छन् । यसअन्तर्गत २४ सै घण्टा हटलाइनमा ‘एक्लोपन परामर्शदाता’ उपलब्ध गराइने र एक्लो रहेका व्यक्तिहरूलाई भेट्ने परामर्शदाताको पनि व्यवस्था गरिएको महानगरीय सरकारले जनाएको छ ।
‘एक्लोपन व्यक्तिगत समस्या मात्र होइन, तर समाजले मिलेर समाधान गर्नुपर्ने कार्यहरू हुन्,’ सोलका मेयर ओह से–हुनले भनेका छन् । त्यसका लागि सोलले एक्लोपनको समस्यामा परेका मानिसहरूलाई निको पार्ने र समाजमा फर्कन मद्दत गर्ने उनको भनाइ छ ।
मध्यम उमेरका र बुढ्यौलीमा रहेका नागरिकका लागि विस्तारित मनोवैज्ञानिक सेवा र पोषणयुक्त भोजन उपलब्ध गराउने र हरियालीजन्य क्षेत्रको विकास गरिने जनाइएको छ । त्यसका साथै एक्लै रहने/बस्ने नागरिकलाई पहिचान गर्न खोजी प्रणालीको व्यवस्था गर्ने र मानिसहरूलाई बाहिर उद्यम गर्न र समुदायमा अन्य मानिसहरूसँग घुलमिलको वातावरण बनाउन बगैंचा, खेलकुद, पुस्तक क्लब लगायतको पनि व्यवस्था गरिने जनाइएको छ ।
सोलले अघि सारेका उपायलाई विज्ञहरूले स्वागत गरेका छन् । तर कोरियाली संस्कृतिको केही विशिष्ट भागहरूसँग जोडिएको भएकाले यसलाई परिवर्तन गर्न भने निकै गाह्रो रहेको उनीहरूको भनाइ छ । ‘एक्लोपन अहिलेको सामाजिक समस्या हो, त्यसैले यसलाई सम्बोधन गर्ने प्रयास वा नीतिहरू एकदमै आवश्यक छ,’ म्योङजी विश्वविद्यालयका मनोविज्ञानका प्राध्यापक एन सु–जंग भन्छिन्, ‘तर त्यस्ता उपायहरू कति प्रभावकारी हुन्छन् भन्नेबारे सावधानीपूर्वक विचार गर्न आवश्यक छ ।’
पछिल्ला वर्षहरूमा दक्षिण कोरियामा एक्लोपनको राष्ट्रिय समस्या बनेको छ । एक अध्ययनअनुसार सन् २०२२ मा २ लाख ४४ हजार मानिस एक्लै रहने/बस्ने गरेको देखिएको थियो । त्यसरी बस्ने गरेकामध्ये अघिल्लो वर्ष ३ हजार ६ सय ६१ जनाले एक्ले मृत्युवरण गरेका थिए । कोरियाली स्वास्थ्य तथा कल्याण मन्त्रालयको तथ्यांक अनुसार २०२२ मा त्यस्तो संख्या ३ हजार ५ सय ५९ र २०२१ मा ३ हजार ३ सय ७८ थियो । गत वर्ष एक्लै मृत्युवरण गरेकामध्ये ८४ प्रतिशत पुरुष रहेको मन्त्रालयले जनाएको छ । तीमध्ये आधाभन्दा बढी ५० र ६० को दशकका पुरुषहरू छन् ।
गत जुनमा गरिएको एक अध्ययनले एकल–व्यक्ति परिवार, काम र घरबाहिर सामाजिक अन्तरक्रिया नगर्ने अवस्था, सामाजिक सञ्जालको प्रभुत्व, प्रतिस्पर्धात्मक र प्रगति वा उपलब्धि मापन गर्ने कोरियाली संस्कृतिका कारण एक्लोपना समस्याका रुपमा देखा परेको देखाएको छ ।
दक्षिण कोरियाली अधिकारीहरूले यो समस्यासँग लड्न वर्षौंदेखि विभिन्न पहल गर्दै आएका छन् । ‘लोन्ली डेथ प्रिभेन्सन एण्ड म्यानेजमेन्ट ऐन’ ले सरकारलाई रोकथाम योजना र पाँच–वर्षको स्थिति संकलन गर्ने व्यवस्था गरेको छ । २०२३ मा सरकारले केही युवाहरूलाई समाजमा पुनःस्थापित गर्नका लागि प्रतिमहिना ६ लाख ५० हजार वन (४ सय ७५ अमेरिकी डलर) सम्म आर्थिक सहयोग दिने व्यवस्था गरिएको थियो ।
पछिल्लो समय दक्षिण कोरियामा बढी देखिएको भए पनि यो समस्या अन्य देशमा पनि छ । जापानमा ‘हिकीकोमोरी’ भनिने यो अवस्था जापानमा सन् २०२१ मा पहिलोपटक पहिचान गरिएको थियो । त्यसको अर्को वर्ष जापान सरकारले २४ सै घण्टा परामर्श सेवा तथा सामाजिक कार्यको विस्तारका लागि मन्त्रालयको व्यवस्था गरेको थियो ।

त्यस्तै, बेलायत लगायत अन्य देशहरूले पनि एक्लोपनसम्बन्धी मन्त्रीहरू नियुक्त गरेका छन् । अमेरिका सन् २०२३ मा एक्लोपन आफैंमा महामारीका रूपमा रहेको चेतावनी दिइएको थियो । विश्व स्वास्थ्य संगठनले पनि २०२३ मा एक्लोपनविरुद्ध लड्न एक आयोग गठन गरेको थियो ।
तर भौतिकवादी जीवनशैलीका कारण पनि एक्लोपनको समस्यालाई मौलिक रूपमा समाधान गर्न कठिन रहेको विज्ञहरू बताउँछन् । ‘यो एकल नीतिले सजिलै परिवर्तन गर्न सकिने कुरा होइन,’ प्राध्यापक एन भन्छिन्, ‘यसमा जटिल, सांस्कृतिक र अन्य कारणहरू छन् । अझ यस्तो लाग्छ कि हामीसँग आफ्नै हेरचाह गर्ने समय पनि छैन ।’
