

जनकपुरधाम ।
जनकपुरधाममा महिलाहरुलाई एक दिने वित्तिय साक्षरता तालिमा दिइएको छ । वित्तीय शिक्षा प्रवद्र्धन र महिलाहरूको वित्तीय साक्षरता ज्ञान र सीपहरूको विकास गर्ने उद्देश्यले मिडिया हाउस नेशनल इन्स्टिच्युट फर करियर डेभलपमेन्टको आयोजनामा महिलाहरुलाई एक दिने तालिम दिइएको हो ।
महिलाहरूलाई आर्थिक रूपमा सुरक्षित भविष्यकालागि लक्षित गरेर उनीहरूको जीवनको गुणस्तरमा योगदान पुर्याउने गरी तालिम दिइएको मिडिया हाउस नेशनल इन्स्टिच्युट फर करियर डेभलपमेन्टका निर्देशक उज्वलराज गौतमले जानकारी दिए । महिलालाई वित्तीय साक्षरताले खर्च गर्ने बानी, लगानी, आवश्यक्ता र चाहनाबीचको भिन्नतालाई कसरी परिवर्तन गर्छ भन्ने विषयमा जानकारी दिइएको उनले बताए । तालिममा महिलालाई डिजिटल वित्तीय माध्यमबारे जानकारी दिइनुका साथै आफ्ना वित्तीय स्रोत, बचत, लगानी र सुरक्षित गर्ने उद्देश्यले बैंक खाता खोल्ने विधि बारे प्रशिक्षकहरु विनोद अधिकारी र सहनशिला शर्माले प्रशिक्षण दिएका थिए ।
तालिमको उदघाटन सत्रमा बोल्दै जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीले अहिलेका युवा पुस्ता सामाजिक सञ्जालमा समय खेर फालिरहेको समयमा यस प्रकारको तालिमले आर्थिक रुपमा सम्पन्न हुनकालागि ज्ञान आर्जन गर्न सहायक साबित हुने बताए । तालिम आयोजनामा जनकपुरधाम उद्योग वाणिज्य संघले सहकार्य गरेको थियो भने एभरेष्ट बैंकले सहयोग गरेका थिए ।
कार्यक्रममा जनकपुरधाम उद्योग वाणिज्य संघको महिला उपाध्यक्ष रिंकु साह, जउवा संघको पूर्व सदस्य धर्मेन्द्र साह, एभरेष्ट बैंकका शाखा प्रबन्धकद्वय विक्रान्त शर्मा तथा संजीवकुमार ठाकुरको उपस्थितिरहेको थियो ।
