

जनकपुरधाम ।
विवाहपञ्चमी महोत्सवलाई लिएर जनकपुरधामबाट विश्व हिन्दुपरिषदका पदाधिकारीहरु तिलक र आमन्त्रण पत्र सहित भारतको अयोध्याकालागि प्रस्थान गरेको छ ।
भगवान सीतारामको विवाहलाइ लिएर ५ सयको संख्यामा तिलक र अयोध्याबाट आउने जन्तीकालागि आमन्त्रण पत्रसहित अयोध्याकालागि विश्व हिन्दु परिषदका पदाधिकारीहरु सयौँको संख्यामा अयोध्याकालागि प्रस्थान गरेका हुन् ।
तीलक लिएर जाने टोलीलाई मधेसका मुख्यमन्त्री सतिश सिंह र जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले विदाई गरेका हुन् । अयोध्या प्रस्थान गरेको टोलीलाई विदाई गर्दै मुख्यमन्त्री सिंहले जनकपुरधाममा प्रत्येक वर्ष हुने विवाहपञ्चमी महोत्सवलाई व्यवस्थित पार्न प्रदेश सरकारले काम गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले यस अघि रहँदै आएको गैपलाई मिलाउने काम प्रदेश सरकारले गर्ने बताए ।
मुख्यमन्त्री सिंहको मंसिर २ गते विरगंजमा यही टोलीमा सहभागी भएर त्यहाँबाट तिलक सहित अयोध्या जाने कार्यक्रम रहेको छ ।
यता जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले विश्व हिन्दुृ परिषदले तिलक पठाउने नयाँ कार्यक्रम शुरु गरेकोमा खुशी व्यक्त गरे । उनले यस प्रकारको कार्यक्रमले नेपाल भारतलाई थप नजिक ल्याउन मद्दत पुग्ने बताए ।
तिलक लिएर जाने समुह २ गते नै अयोध्या पुग्ने र ३ गते तिलक सहित जानकी मन्दिरको पत्र विश्व हिन्दू परिषदका महासचिव राजेन्द्र सिंह पंकजको अगुवाईमा चम्पत रायलाई हस्तांतरण गरिने बताइएको छ । विश्व हिन्दू परिषद् को सक्रियतामा विगत वर्ष झैँ यस वर्ष पनि सामुहिक विवाहको कार्यक्रम समेत राखिएको छ ।
