

काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणअघि नै भारत जाने भएका छन् । प्रधानमन्त्री ओलीको भारत भ्रमण निश्चित भएको र मिति केही दिनमै सार्वजनिक हुने भारतीय उच्च कूटनीतिक स्रोतले पुष्टि गरेको छ ।
प्रधानमन्त्री ओलीको भारत भ्रमणका लागि केही समय अगाडिदेखि नै प्रयास भइरहेको थियो । ओलीले भारतसँगको सम्बन्ध सुधार गर्न विभिन्न माध्यममार्फत प्रयास गरिरहेका थिए । प्रधानमन्त्री ओलीको सचिवालय स्रोतले पनि भारत भ्रमण निश्चित भएको पुष्टि गर्दै तयारी अन्तिम चरणमा पुगेको बताएको छ ।
स्रोतका अनुसार, प्रधानमन्त्री ओली आउँदो डिसेम्बर पहिलो साता भारत जानेछन् । करिब १५ दिनको तयारी समय राखेर दुवै पक्षले मिति सार्वजनिक गर्नेछन् । नोभेम्बर १५ भइसकेकाले केही दिनमै मिति सार्वजनिक गरिने स्रोतको भनाइ छ ।
प्रधानमन्त्रीको भारत भ्रमणका कारण चीनतर्फको भ्रमण केही पर धकेलिन पनि सक्नेछ । उत्तरी छिमेकी चीनबाट प्रधानमन्त्री ओलीलाई भ्रमणको औपचारिक निम्तो प्राप्त भइसकेको छ । चिनियाँ पक्षले यसअघि नै भ्रमणका लागि १७–२१ मंसिर (२–६ डिसेम्बर) को मिति प्रस्ताव गरेको छ ।
