

⇔ सुजीतकुमार झा

मैथिली साहित्यका महाकवि विद्यापतिको स्मृति दिवस नेपाल र भारतको विभिन्न स्थानमा मनाइदै छ । कात्तिक धवल त्रयोदशी तिथिका दिन उहाँ स्वर्गीय हुनु भएको वताइन्छ र त्यसै आधारमा उहाँको स्मृति दिवस प्रत्येक वर्ष यसै तिथिकै अगाडी पछाडी मनाउने गरिन्छ । योक्रम महिनाभरी चल्ने गर्छन ।
’विद्यापतिक आयु अवसान
कातिक धवल त्रयोदसि जान ।’
विद्यापति स्वंयले आफनो कृतिमा यो उल्लेख गर्नु भएको छ । विद्यापतिको जन्म १३४० ईस्वी देखि १३७५ ईस्वीको मध्यमा भएको बताइन्छ ।
आधुनिक मैथिली साहित्यको लेखन तथा विस्तारमा उनको ठूलो योगदान रहेको छ । मैथिली भाषा र साहित्यमा उहाँले गरेको योगदानको नेपाल र भारत दुवै देशले उच्च सम्मान गर्दै आ–आफ्नो देशको हुलाक टिकटमा उनको तस्वीर अङ्कित गरेका छन् । दूबै देशको विभिन्न स्थानमा दर्जनो उहाँको शालिक रहेको छ । नेपाल र भारत दुवै देशमा मैथिली आन्दोलन विद्यापति स्मृति दिवसकै आयोजनबाट सुरु भएको थियो । पण्डित सुन्दर झा शास्त्री समेतका अग्रसरतामा नेपालमा सुरू भएको यो आयोजना नेपालमा क्षेत्रीय भाषाहरूको अस्मिता र सम्मानको संर्घष तथा यसका लागि लोकतन्त्रको आवश्यक्ता बोध गराउने लक्ष्यतर्फ केन्द्रित थियो । विद्यापतिले सम्पूर्ण जीवन साहित्यलाई अर्पित गरेको जानकारहरु बताउँछन । मृत्युको अन्तिम क्षणसम्म पदको रचना गर्दै काव्यधारा प्रवाहित गरिरहे ।
भनिन्छ, आफ्नो जीवनको अन्तकाल आइपुगेको उनलाई आभाष भइसकेको थियो र आफैं आफ्नी छोरी, धर्मपत्नीलाई त्यससम्बन्धमा जानकारी दिई गंगालाभका लागि प्रस्थान गरेका थिए । अलि वाजितपुरसम्म पुग्दा उनको शक्ति पूर्णतया क्षीण भयो र अगाडि बढ्न असमर्थ भए । त्यतिबेला उनले गरेको गंगाको वन्दना विद्यापतिका अमर पदावलीहरूमध्ये एक हो ।
बड. सुखसार पाओल तुआ तीरे ।
छोड.इत निकट नयन बह नीरे ।।
भनिन्छ, उहाँको भक्ति र्पूूण वन्दनापछि गङ्गाको धार विद्यापतिसम्म घुमेर गयो र गङ्गालाभ गर्दै उनले देहत्याग गरे । वाजितपुरको त्यो स्थानमा अहिले विद्यापति नगर रेल्वे स्टेसन भारतको रेल्वेले वनाएको छ ।
जीवनको अन्तिम क्षणसम्म रचनाको प्रमाणका साथै यसले उनको आध्यात्मिक उच्चता पनि स्पष्ट गर्छ । विद्यापतिको लेखन, विषय र भाषाक्षेत्र व्यापक र विशाल थियो । उनका रचना संस्कृत, प्राकृत, मैथिली र अबहठ्ठमा प्राप्त भएका छन् । मैथिलीमा मात्रै उनले शक्ति आराधना, नचारी, कृष्णलीला, प्रणय लगायतका विषयमा हजारभन्दा बढी गीत रचना गरेका छन् भने अबहठ्ठमा दुईवटा खण्डकाव्य कीर्तीलता र र्कीर्तिपताका तथा संस्कृत प्राकृत मैथिलीमा गोरक्षविजय र संस्कृत प्राकृतमा मणिमञ्जरी नाटकहरू उपलब्ध छन् । संस्कृतमा उनले शास्त्रीय र व्यवहारोपयोगी धेरै ग्रन्थ लेखेका थिए । तीमध्ये शिक्षाप्रद रोचक कथा संकलन पुरुष परीक्षा तथा अभिलेखाङ्कन नमूनाका साथै शासनोपयोगी पत्राचारको लिखनावली चर्चित रहेको छ । विद्यापतिको यात्रा साहित्य भूपरिक्रमा, धर्मशास्त्र र कर्मकाण्डका पारम्परिक ग्रन्थहरू विभागसार, शैवर्सवस्वसार, दुर्गाभक्ति तरङ्गनि, दानवाक्यावली, गङ्गावाक्यावली, गयापत्तलक, वर्षृत्य, व्याड. भक्तितरङ्गनि आदि अमर कृति छन् ।
विद्यापतिले आफ्नोे काव्यिक रचना गर्दा विषय सुहाउँदो रस र उपयुक्त भाषाको चयन गरेका छन् । जस्तै, वीररसको लागि अवहट्ट भाषालाई रोजे भने भक्ति र शृंगार गीतको लागि मैथिली । अध्यात्म वा शास्त्रजन्य व्यवहारको लागि र राजा वा राजपरिवारको सदस्यको विरुदावलीको लागि संस्कृत रोजेका छन् । जुनसुकै भाषाको सफल साहित्य त्यस भाषालाई प्रयोग गर्ने समाजको वास्तविक इतिहास हुने गर्छ । विद्यापतिका साहित्यले त्यस भनाईलाई शतप्रतिशत प्रमाणित गर्छ ।
यी सबै कृतिमा तत्कालीन सूचना र सामाजिक चित्रण पाइन्छ । र्कीर्तिलतालाई विद्यापतिको पहिलो रचना मानिन्छ । त्यतिखेर मिथिलाका विद्वान संस्कृतमा लेख्ने गर्थे । र्कीर्तिलतामा उहाँले मातृभाषामा लेखेका कारण र यसको महत्व बताउनु भएको छ –देसिल बअना सब जन मिठ्ठा, ते तैसन जम्पओ अबहठ्ठा ।
कीर्तिपताकामा मैथिली भाषामा प्रेमसम्बन्धी कामनीय कविता छन् । शैवर्सवस्वसारमा भवसिंहदेखि विश्वास देवीसम्मका कीर्तिकथा विरुदावली शैलीमा वणिर्त छ । गंगावाक्यावली र दुर्गाभक्तितरंगिणी गंगा र शक्तिको उपासनामा विद्यापतिद्वारा रचित रचना संग्रह हुन्।
विद्यापतिका पिता गणपति ठाकुर र माता गांगोदेवी थिए । मिथिलाको तत्कालिन राजधानीमा राजकुमार शिवसिंह, कीर्ति सिंह तथा पद्मसिंहसँग उहाँको शिक्षादीक्षा भयो । त्यसपछि सिदरपुरमा प्रकाण्ड विद्वान हरि मिश्रको चौपाडीमा न्यायशास्त्र तथा धर्मशास्त्रको अध्ययन गर्नुभयो ।
विद्यापति सरस, विनोदी र चतुर त थिए, आफ्नो सम्मोहक र उदात्त व्यक्तित्त्वका कारण राजा शिवसिंहले उनलाई राजपण्डित बनाए । विद्यापतिका शृङगार गीत रचना यसै अवधिमा भयो । दिल्लीका सुल्तान इब्राहिम शाहलाई राजस्व नबुझाएको कारण राजा शिवसिंहलाई सुल्तानले बन्दी बनाए । विद्यापतिले आफ्ना गीत सुनाई सुल्तानलाई मुग्ध पारी शिवसिंहलाई मुक्त गराएको इतिहास रहेको छ ।
१४०२ ई.मा जलालुद्दीनले मिथिलामाथि आक्रमण गरे, तर उनी पराजित भएर फर्किनुर्पयो । त्यस युद्धमा कविकोकिलको भूमिकाबाट प्रभावित भई राजा शिवसिंहले त्यसलगत्तै राज्याभिषेक अवसरमा उनलाई आफ्नो जन्मस्थली बिस्फी ग्राम दानस्वरूप प्रदान गर्नुभयो ।
तीन–चार वर्षर्पिछ फेरि इब्राहिम शाहले मिथिलामाथि आक्रमण गरे । युद्धमा राजा शिवसिंह पराजित भए । विद्यापतिले रानीहरूसंगै बनौलीका राजा पुरादित्यको शरणमा जानुपर्यो । विद्यापतिका लागि त्यो अवधि कठिन र निराशाजनक थियो । उनी गीत गोविन्दका रचनाकार जयदेवको प्रभावमा परे । जयदेवलाई विद्यापतिको पे्ररणास्रोत मानिन्छ । उनलाई अभिनव जयदेव पनि भनिन्छ । निर्वासनकालमा उनका रचनामा शृङगारको स्थानमा भक्तिका धारा प्रवाहित हुन थाल्यो । उनले भगवान शिवशंकरका लागि नचारीका रचनामा आफूलाई समर्पित गरे ।
विद्यापति शिव, शक्ति र राधाकृष्णका उपासक थिए । उनका सम्पूर्ण गीतलाई दुई गोट धारामा विभाजित गर्न सकिन्छ शृङगार र भक्ति । पहिलो धारामा राधाकृष्णका आराधनामा रचिएका गीत पर्छन् भने दोस्रो धारामा महादेव, देवी र गंगाका स्तुति । महादेवप्रति समर्पित रचना नचारीका नामले विख्यात छन् । शक्तिको स्तुति गोसाउनी गीत मिथिलाका प्रत्येक पर्व वा कुनै शुभकार्य अवसरमा अनिवार्य रूपले गाइन्छ ।
विद्यापतिको काव्यधाराले भारतवर्षलाई प्रभावित गरेको थियो । आसाम, बङ्गालबाट न्यायशास्त्र पढ्न विद्यार्थीहरू मिथिला आउथे । फर्किंदा विद्यापतिका गीत–संगीत लिएर जान्थे ।
जगदीश मिश्र, विष्णुपुरी, भानुदत्त, गोविन्द ठाकुर, गोविन्द दास यसका उदाहरण हुन ्। विद्यापतिका गीत जब महाप्रभु चैतन्यको कानमा परयो, उनी भावविभोर भए । बङ्गाल, आसाम तथा उडिसासम्म विद्यापतिका गीत चैतन्य सम्प्रदायमा सम्मानित स्थान प्राप्त गर्यो । वैष्णव कवि उनको अनुसरण गर्दै रचना गर्न थाले । यसैक्रममा यस्ता रचनामा स्थानीय भाषाका तत्व मिश्रित भए । परिणामस्वरूप भाषाको नयाँ रूप उत्पन्न भयो, जसलाई व्रजबोली भनिन्छ । कवीन्द्र रवीन्द्रनाथ ठाकुरले पनि विद्यापतिको अनुसरण गरेको पाइन्छ । भानुसिंहको नामले रचित उनका रचना उदाहरणस्वरूप लिन सकिन्छ । विद्यापतिसँग महर्षि अरविन्दो पनि प्रभावित भए । डा विनोदविहारी वर्माद्वारा लिखित ’महर्षि श्री अरोविन्दो अन विद्यापति’ निबन्धमा यसको विस्तृत विवरण छ । यसबाट विद्यापति आफ्नो युगको प्रतिनिधि मात्रै होइन, युगका प्रवर्तक समेत रहेको प्रमाणित हुन्छ ।
विद्यापतिका व्यवहार गीतले मिथिलाका लोक–व्यवहार गीतलाई साहित्यिक प्रतिष्ठा प्रदान गर्यो । उहाँका व्यवहार गीतका अनुसरण प्रक्रियाले अहिलेसम्म पनि निरन्तरता पाएको छ । विद्यापति नारी हृदयका मर्मज्ञ थिए । नारीमा अन्तरनिहित भावनाको यथार्थ वर्णन गर्थे–
सरसिज विनु सर सरविनु सरसिज की सरसिज विनु सूरे
यौवन विनु तन तन विनु यौवन की यौवन पिय दूरे
सखी हे, मोर बड दैव विरोधी
मदन वेदन बड पिया मोर बोलछड
अबहु देकु परबोधी ।
त्यस्तै अर्को पद छ
ए सखी रंगिनी कहल निसान
हेरइत पुन मोर शरल निसान
कवि विद्यापति एह रस भान
सुपुरुष परम तुहु भल जान
की लागि कौतुक देखलहु सखी
निमिष लोचन आध
मोर मन मृग परम बेधल
विषम बान बेआध ।
विद्यापतिका गीत गुणोत्कर्षाणका साथै विषय विविधताले पनि परिपूर्ण छन् । भक्ति गीतमा आराध्य र आराधकको सम्बन्ध प्रतिफलित देखिन्छ तथा आराध्यको छवि, लीला, वर–याचना आदि मुख्य विषय बनेका छन् । शृङगार गीतमा वयःसन्धि, रूपलावण्य, रागोदय, केलिकातरता, रसिकता, रतिपाटव, परकीयाकैतव, अभिसार, मिलनको उल्लास, विरहको वेदना लगायत नरनारीका यौन सम्बन्धसँग सम्बन्धित सबै विषय रुचिकर शैलीमा समेटिएका छन् । व्यावहारिक गीतमा माङ्गलिक, उपचार, पारिवारिक हर्षोल्लास, प्रेम, वात्सल्य, शुभकामना आदि चित्रित छन् । मैथिली साहित्यमा विद्यापतिको स्थान इटालीका दाँते र बेलायतका चौसरजस्तो छ ।
विद्यापति निर्वासनकालमा प्राचीन मिथिलाको राजधानी जनकपुरदेखि दक्षिण राजबनौलीमा बसेका थिए । प्राचीन मिथिला लिपिका हस्तलिखित तालपत्रमा विद्यापति लिखित २८७ पदहरूको संग्रहको एकमात्र प्रति नेपालको राष्ट्रिय अभिलेखालयमा सुरक्षित छ । यो गीतिसंग्रह विद्यापतिले नेपाल उपत्यकामा रहँदा नै लेखेको हुनुपर्छ भन्ने अनुमान गर्न कठिन छैन ।
विद्यापतिले दुइटा नाटक लेखेको देखिन्छ । त्यसमध्ये ‘गोरक्ष विजय’ नाटकको तालपत्रमा लेखिएको हस्तलिखित पाण्डुलिपिको एकमात्र प्रति पनि नेपालकै अभिलेखालयमा संग्रहित छ, अन्यत्र पाइएको छैन । र्सवप्रथम महामहोपाध्याय हरिप्रसाद भट्टाचार्य शास्त्रीलाई यसको जानकारी प्राप्त भएको थियो । उनी विद्यापतिबाट प्रभावित थिए ।
उनले लेखेका छन– विद्यापतिके आमरा तीन मूर्तिते देखिते पाई। एक मूर्र्ितते तिनी पण्डित संस्कृत साहित्ये खुब व्युत्पन्न। तिरहुतेर राजादेर सभासद एवं हिन्दू समाजे र्पुनर्गठने कृतसंकल्प । आर एक मूर्तिते देखि तिनी कविर चक्षे जगत देखिते छेन । आदि रसेर पद लिखिते छन एवं समये–समये उच्छवासे गद्गद् होइते छेन । ताँहार आरओ एक मूर्ति आछे । तिनी इतिहास लिखिते छेन । ताँहार इतिहासेर नाम मोने –ताँहार र्कीर्त्ितपताका ओ किर्र्ित्तलता त्यहाँको भारत वर्षो एक जन प्रधान इतिहास लेखक करिया तुलिया छन ।
पछि हरप्रसादले नेपाल सरकारको स्वीकृति लिएर सो पाण्डुलिपि नगेन्द्रनाथ गुप्तलाई शोध गर्न दिएका थिए । दरभंगा महाराज कामेश्वर सिंहले त्यस विपुल सम्पदाको दुइटा प्रतिलिपि तयार गरे, जसमध्ये एउटा पटना कलेजमा र अर्को पटना विश्वविद्यालयको पुस्तकालयमा सुरक्षित छ ।
मैथिल कवि कोकिल, रसासिद्ध कवि विद्यापति, तुलसी, सूर, कबूर, मीरा सबै भन्दा अगाडिका कवि हुन् । यिनीहरूको संस्कृत, प्राकृत अपभ्रंश एवं मातृ भाषा मैथिलीमा समान अधिकार थियो। विद्यापतिको रचनाहरू संस्कृत, अवहट्ट, एवं मैथिली तिनैवटा भाषामा पाइन्छ ।
मैथिली साहित्यमा चौधौं शताब्दीको संघर्षपूर्ण वातावरणमा जन्मेका प्रतिनिधि पात्र हुन् विद्यापति ठाकुर । बहुमुखी प्रतिमासम्पन्न यी महाकविको व्यक्तित्वमा एक चिन्तक, एक शास्त्रार्थकार तथा एक साहित्य रसिकको अद्भुत समन्वय थियो । संस्कृतमा रचित यिनको पुरुष परीक्षा, भू–परिक्रमा, लेखनवली, शैवसर्वश्वसार, शैवसर्वश्वसार प्रमाणभूत पुराण–संग्रह, गंगावाक्यावली, विभागसार, दानवाक्यावली, दुर्गाभक्तितरंगिणी, गयापतालक एवं वर्षकृत आदि ग्रन्थ छन् ।
एकातिर यिनको गहन पाण्डित्य सँग यिनको युगद्रष्टा एवं युगस्रष्टा स्वरूपको साक्षी छ दोश्रो तर्फ कीर्तिलता, भाषामा सम्यक ज्ञानको सूचक हुनुका साथसाथै ऐतिहासिक साहित्यिक एवं भाषा सम्बन्धी महत्व राख्ने आधुनिक भारतीय आर्य भाषाको अनुपम ग्रन्थ छ । तर विद्यापतिको अक्षम कीर्तिको आधार हो मैथिली पदावली, जसमा राधा एवं कृष्णको प्रेम प्रसँग सर्वप्रथम उत्तरभारतमा गेय पदको रूपमा प्रकाशित छ ।
जबसम्म मिथिला र मैथिल रहन्छन् विद्यापतिको काव्यको सौगन्धिक सम्पदा झन् गाढा भएर फैलि रहनेछ भन्नुमा कुनै दुई मत छैन मधेशी आयोगका अध्यक्ष एवं मैथिली साहित्यकार डा. विजय दत्त भन्नुहुन्छ ।
